लकडाउन थपिए नगरपालिकाले राहत दिने

सुर्खेत : नेपाल सरकारले ‘लकडाउन’ को अवधि चैत १८ पछि पनि थप गरे वीरेन्द्रनगर नगरपालिकाले गरिब परिवार पहिचान गरी राहत दिने भएको छ । नगरकार्यपालिकाका कार्यबाहक प्रमुख मोहनमाया भण्डारीको अध्यक्षतामा शुक्रवार बसेको कार्यपालिकाको आकस्मिक बैठकले वीरेन्द्रनगरका बासिन्दामध्ये दैनिक परिश्रम गरी छाक टार्नुपर्ने परिवारलाई राहत दिने निर्णय गरेको हो ।

त्यस्ता परिवारलाई बन्द नखुल्ने अवधिसम्मका लागि प्रतिवडा अधिकतम पाँच लाखका दरले खाद्यवस्तु (दाल, चामल, तेल र नुन) राहत स्वरुप उपलब्ध गराउनेछ ।

साथै न्युनतम खाद्य सामग्री खरिद गर्न घर बाहिर जान नसक्ने अवस्था भएमा वडाबासीले घरबाटै न्युनतम खाद्य सामाग्री खरिद गर्न सक्ने गरी नगरपालिकाले हरेक वडामा आवश्यक व्यवस्था मिलाउने जनाएको छ । नगरबासीहरुलाई अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र घरमै बसी कोरोना भाइरस ‐कोभिड –१९) संक्रमण विरुद्ध सजग हुन अनुरोध गरिएको छ ।

प्रकाशित मितिः   १४ चैत्र २०७६, शुक्रबार १४:२८