विचार

कोरोनावतार : मानवलाई मानवता सम्झाउने चेतना

हरि उपाध्याय

सन्दर्भ

‘भाइरस’ याने कि एक सुश्म विषाणु, जो नाङ्गो आँखाले देखिदैंन र जसको प्रजनन् अन्य जीवित कोषमा हुन्छ । भनिन्छ, भौतिक आकार जति सुश्म हुन्छ, शक्तिको मात्रा त्यति नै बढी हुन्छ । अहिले विश्वले एक महामारी खेपिरहेको छ ‘कोभिड–१९’ अथवा कोरोना भाइरसका कारणले लाग्ने रोग । यो विश्वका लागि नयाँ भएकाले औषधि नभेटिसकेको र सर्ने प्रकृतिको भएकाले यसको मानवजातिमा असर निकै तीव्र गतिमा भइरहेको छ ।

आर्थिक वृद्धिदरलाई मुख्य आधार मानेर अर्थात् भौतिक विकासलाई प्राथमिकतामा राखी विश्वलाई नेतृत्व गर्ने होडबाजी चलिरहेको युगमा एउटा भौतिक रूपमा निकै सुश्म विषाणुले विश्वलाई स्थिर हुने अवस्थामा ल्याइदिएको छ र यसलाई विश्व स्वास्थ्य संगठनले महामारीको संज्ञा दिएको छ ।

डिसेम्बर २०१९ मा पहिलो पटक चीनको वुहान भन्ने सहरबाट मानवमा देखिएको यो रोगबाट अहिले विश्वका १९९ देशमा पाँच लाख भन्दा धेरै मान्छे संक्रमित भएका छन् भने २२ हजारभन्दा धेरै मान्छेको ज्यान गइसकेको छ । विश्व ‘लकडाउन’ को अवस्थामा पुगेको छ, काम नगरी बाँच्न सकिन्न, कार्यालय नगई घर चल्दैन, साह्रै व्यस्त छु, जति सक्दो सुविधा र भौतिक विकास भएको ठाउँमा मात्र जीवन खुशी हुन्छ भन्ने मानसिकता भएको विश्वलाई आज यस कोरोनाले घरमा ‘लक’ भएर नबसे ज्यान लिने गरेपछि मान्छेहरू घरमै बस्न थालेका छन् । गाउँ फर्किन थालेका छन् । एकान्त भएको ठाउँमा बस्न थालेका छन् ।

मानव जाति आतंकित भइ महामारीबाट बच्न भागदौड गरिरहँदा पृथ्वी, अन्य जीवजन्तु र वातावरणले भने शान्तिको सास फेर्न पाएको छ । खोला, नाला, समुन्द्र र अन्य पानीका स्रोतहरूमा स्वच्छता देखिन थालेको छ, वातावरण स्वच्छ देखिन थालेको छ, चरा चुरुंगीहरूका आवाज दिउँसोमा पनि सुनिन थालेका छन् । कुखुरा, बाख्रा, भैसी र अन्य जनावरहरूको हत्यामा कमी आएको छ । वन्यजन्तुहरू स्वतन्त्र रूपमा घुमफिर गरिरहेका छन् । निलो आकाश देखिन थालेको छ, सैयौं चराहरू शान्तिसँग खाली ठाउँमा बस्ने र उड्ने गरिरहेका छन्, गाउँमा बुवाआमाले लामो समय सन्तानहरूसँग समय व्यतित गर्न पाएका छन् र लाग्दैछ पृथ्वीले केही सुकुनको स्वास फेर्दै छिन् ।

सबैको महत्वको विषय बनेको छ विश्वलाई कसरी बचाउने ? त्यो पनि विना शर्त । न जात, न वर्ग, न भौतिक सीमा न त धर्म ! सबैजना एउटा डोरीमुनी उभिएर सोचिरहेका छन् ‘मानवता’ र ‘विश्व’ ।

पृष्ठभूमि

भौतिक विकास र आर्थिक विकासनै मानव जगतको अन्तिम उद्देश्य हो भन्नेतर्फ उन्मुख विश्वलाई एउटा सानो नाङ्गो आँखाले देख्न नसकिने विषाणुले शक्ति प्रदर्शन गरेको छ र औकातमा रहन सतर्क गरेको छ । मानिस आफै आत्तिएर महामारीको रूपमा हेरिरहेको छ तर त्यो भाइरस आफूलाई माहामारीको कारण मान्न तयार देखिदैंन । उसले भन्छ ‘मेरो स्थान त वन्य जन्तु हो र मलाई आफै लिन नआएसम्म म कसैकोमा आफै प्रवेश गर्दैन, मानिसहरू आफै मलाई लिन आउछन् अनि फेरि महामारीको कारण मलाई भनेर दोष लगाउँछन् ।’

नेपोलियन हिलले भनेका छन्, ‘हरेक विपत्ति आफू बराबर वा धेरै अवसरहरू लिएर आउँछ ।’, त्यसैगरी यो कोरोनाको मानव प्रवेश विश्वका लागि ठूलो संकट भएको छ तर हामी मानव मानवतामा उत्रिने हो र सजकता अपनाउने हो भने यो महामारी हैन मानवता पुनर्जागरण गर्ने महत्वपूर्ण माध्यम बन्ने छ (जुन चीनको वुहान सहरले सावित गरी सक्यो) । विश्वले कोरोनाको कारणले करुणा पाउने छ, विश्व फेरि जिउन थाल्ने छ अन्य असंख्य प्रकृतिका रचनाहरू सँगैसँगै ।

विश्व बन्धुत्वको मर्म फेरि पुनार्जागरण हुनेछ, मानिस आफू जिउन अरुलाई मार्ने, दोहन गर्ने, हराउने नभइ आफू बाँच्न अरुलाई बचाउन र संरक्षण गर्नतर्फ उन्मुख हुनेछन् । मानवीय धर्मको पुनस्र्थापन हुनेछ अनि सार्थक हुनेछ भागवत गीताको यो महत्वपूर्ण श्लोक ‘परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय सम्भवामी युगे युगे ।’ सत्पुरुषहरूको उद्धार गर्न, पापीहरूको विनाश गर्न र धर्मको पुनस्र्थापना गर्न विभिन्न युगमा विभिन्न रूपमा शक्ति मानवजगतमा अवतरण हुनेछ । मानव सजग र सचेत हुने बित्तिकै कोरोना करुणामा परिणत हुने सम्भावना पनि सँगै आएको छ ।

अब के गर्ने ?

अहिलेको उत्तम कदम भनेको ‘केही पनि नगर्ने नै हो’, कतिपय अवस्थामा केही नगर्नु समाधान हुन्छ र जति गर्नुपर्ने हो त्यो भन्दा धेरै गर्नाले यो अवस्था सिर्जित हुने गर्दछ । त्यो केही पनि नगर्ने जुन हाम्रो दैनिक जीवनी भइसकेको थियो ः बिहान उठ्ने बित्तिकै चिया पिउन चोकमा निस्किने र गफिने, अनि फर्किदा प्याकिंगका चिजहरू लिएर फर्किने । घरमा त्यही खानालाई वैज्ञानिक ‘लन्च’ भनेर खाने, निकै व्यस्त सेड्युल छ भन्दै पेसा र व्यवसायमा निस्किने, दुनियाँलाई जित्नु जो छ । थोरै ढिलो भयो भने अरु अगाडि बढिहाल्छ भन्ने डर, बाहिर निस्किदा सुटेड–बुटेड भएर निस्किने तर चुरोट खादै हिँड्ने, गुट्का खादै प्लाष्टिक जथाभावी फाल्दै, कोइ भेट्यो भने हात मिलाउने, अंकमाल गर्ने, खाना या नास्तामा त्यसलाई नै धेरै प्राथमिकता दिने जसमा अन्य कुनै जीवको मासु छ, अझ त्यो जंगली जीव रैछ भने त नयाँ स्वाद उच्च स्थान, साँझ ‘सोसलाइजेसन’ गर्ने जहाँ मादकपदार्थ र विभिन्न जीव जन्तुका शव (मासु) का साथमा, राती फर्किदा ट्राफिक छल्दै या सेटिङ मिलाएर या शक्ति देखाएर घर आउने, र घरमा बुढा आमाबुवाले नुहाएर चोखा कपडा फेरेर बनाएको खानालाई फोहोर वा स्वादहिन भन्दै घृणा गर्ने अनि बुवाआमालाई ‘लेक्चर’ दिने ‘दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो तपाईंहरू चै त्यहीँ रुढिवादी संस्कारमा हुनुहुन्छ’ ।

माथि उल्लेख गरेका र यस्तै खालका कुनै पनि कामहरू नगर्नु नै अहिलेको प्रमुख आवश्यकता हो । जति सकिन्छ घरमै उत्पादित वस्तुहरू खाने, नियमित हात र शरीर सफा गर्ने, अति आवश्यक बाहेक अरु काममा बाहिर ननिस्किने, अरुलाई टाढैबाट सम्बोधन (नमस्कार) गर्ने । बाहिरबाट फर्केपछि नुहाउने, नयाँ कपडा फेर्ने, हातमुख राम्रोसँग धुने, योग साधना गर्ने आदि अथवा छोटोमा भन्दा जे हाम्रो बाजेबज्यैले गर्नु हुन्थ्यो त्यही गर्ने ।

कोरोनाको सन्देश

१. अहिलेको विकास र समृद्धिको आधार भौतिक र आर्थिक विकास भएको छ तर यसले त्यो नै अन्तिम सुख र खुशी हैन भन्ने पाठ सिकाएको छ । मानिसहरू एकान्त र सहजताको खोजीमा गाउँतिर विस्थापित भएका छन् ।

२. आधुनिकीकरणका नाममा र वैज्ञानिकताका नाममा हामीले अंगालिरहेका दैनिक जीवनका क्रियाकलापहरू स्वास्थ्य र पर्यावरणमैत्री नभइ देखावटी धेरै छन्, जुनमा आमूल सुधारको आवश्यकता छ ।

३. हाम्रो सनातनि संस्कारहरू (भेट्दा टाढैबाट झुकेर नमस्कार गर्ने, बाहिरबाट आउँदा सुनपानी छर्किएर मात्र भित्र जाने, खाना खादा सफा नयाँ कपडा फेरेर मात्र भान्सा प्रवेश गर्ने, महिनावारी र सुत्केरी हुदाँ छुट्टै बस्ने (विभेद हैन क्वारेन्टाइन), बिहान योग साधना गर्ने, साकाहारी भोजन गर्ने, खेतबारीमा उत्पादन गरेका ताजा खाने, प्रकृतिका हरेक रचनाहरूलाई भगवानको रूप मानेर पुज्ने आदि) स्वास्थ्य र प्रकृतिमैत्री भएकाले तिनीहरूको अनुशरण अपरिहार्य छ ।

४. जीवन सुश्म (आत्मिक) र स्थुल (भौतिक) शरीरको संयोग हो र सुश्म जहिले पनि स्थुलभन्दा शक्तिवान हुन्छ, सफल जीवनका लागि यी दुवै पक्षलाई सन्तुलन गरी अगाडि बढ्न जरुरी छ ।

५. जब जीवन र मृत्युको शर्त अगाडि उभिँदा र जीवनका लागि बिलौना गर्दै गर्दा जात, सम्प्रदाय, वर्ण, देश (अर्थतन्त्र), वर्ग, लिङ्ग केही कुराले फरक नपर्ने रहेछ भने कुराहरू बीचको विभेद अन्त्य अत्यावश्यक छ ।

६. जीवन या मृत्यु हाम्रो खानपान, व्यवहार र क्रियाकलापमै निर्भर छ, शतप्रतिशत आफ्नै, त्यसैले सत्कर्मका लागि हाम्रो सामाजिक चिन्तन र जीवन प्रणालीमा रूपान्तरणको आवश्यकता छ ।

७. सहरी नभइ ग्रामीण जीवन स्वावलम्बी, दिगो र समृद्ध छ ।

८. भाइरस आफैमा जीव होइन, न त आफै सर्छ यो त हाम्रै क्रियाकलापले, खानपान र जीवनशैलीले उत्पन्न भएको हो । यसलाई आतंककारी मानेर लडेर नस्ट हँुदैन बरु हामी संयम भएर, विशुद्ध मानवीय गतिविधिहरूमै सीमित रहेर घरमै बसे यो आफै हराएर जानेछ । यो त मानवले पृथ्वी र यसका अन्य रचनाहरूमाथि गरीरहेको अन्यायको प्रतिविम्ब देखाउने माध्यम पो हो, मानवलाई मानवता सम्झाउने चेतना पो हो ।

प्रकाशित मितिः   १४ चैत्र २०७६, शुक्रबार १३:१७