लकडाउनपछि तरकारीको मूल्य दोब्बर
सुर्खेत : वीरेन्द्रनगर बजारमा तरकारी तथा फलफूलको अभावसँगै महंगी पनि ह्वात्तै बढेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमबाट बच्नका लागि लकडाउन गरेपछि व्यवासायीले तरकारी र फलफूलको मूल्य दोब्बर बनाएका हुन् ।
मंगलबारदेखि यहाँका व्यापारीले झण्डै दोब्बर मूल्यमा तरकारी र फलफूल बिक्री गरेका छन् । अहिले वीरेन्द्रनगरमा ७० रुपैयाँ पर्ने भेडे खुर्सानी प्रति केजी एकसय ७० रुपैयाँ, ६० रुपैयाँको सिमी एकसय ३० रुपैयाँ, बोडी एकसय ६० रुपैयाँ, ५० रुपैयाँ पर्ने टमाटर एकसय ४० रुपैयाँ केजीमा बिक्रि भइरहेको छ ।
यस्तै ५० रुपैयाँमा पाइने स्थानीय उत्पादनको आलुलाई अहिले ८० देखि एक सय रुपैयाँमा बिक्री गर्ने गरिएको पाइएको छ ।
भारतबाट नेपालगञ्ज हुँदै भित्रिने आलु लकडाउनको अघिल्लो दिनसम्म ३० रुपैयाँमा बिक्री भइरहेको थियो । तर अहिले त्यसको पनि मूल्य बढेर ५० देखि ७० रुपैयाँसम्म पुगेको छ ।
कागती केजीको दुईसय ४०, चिप्ले भिण्डी दुईसय र तिते करेला दुईसय रुपैयाँमा बिक्री गर्ने गरिएको छ । जुन मूल्य लकडाउन हुनुअघिको भन्दा दोब्बर हो । फलफूलमा स्याउ दुुईसय रुपैयाँ, अंगुर एकसय ६० र अनार दुईसय ६० मा बिक्री भइरहेको छ ।
बुलबुले कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष पर्वल शाहीले अहिले तरकारी उतैबाट मंंहगो भएर आएको दाबी गरे । उनले चितवनको नारायणघाट र भारतबाट पहिलेको तुलनामा कम तरकारी तथा फलफूल आएको सुनाउँदै भने, ‘केही तरकारी उतैबाट मंहगो भएर आएको हो । त्यसले पनि महंगोमा बिक्री भएको छ । तर कतिपय तरकारी र फलफूल व्यवसायीले महंगो गरेका पनि हुनसक्छन् ।’
उनले यस्तो बेला प्रशासनले तरकारी बजारको अनुगमन गर्नुपर्ने बताए । अहिले स्थानीय स्तरमा उत्पादन हुने तरकारी पनि कम भएको र उता होलसेल व्यापारीहरुले पनि महंगोमै दिने गरेकाले यस्तो अवस्था आएको हुनसक्ने उनको भनाइ छ ।
यता जिल्ला प्रशासनले अनुगमनलाई निरन्तरता दिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले अनुगमनका क्रममा व्यापारीले हालेको मूल्यभन्दा धेरै नाफा खाएर बढी मूल्यमा बिक्री गरेको पाइएमा कारबाही गरिने बताए । ‘व्यापारीले बाहिरबाट बढी मूल्यमा ल्याएको भने पनि बिल हेरेर बढी मूल्यमा बिक्री गरेको पाइएमा कारबाही हुन्छ,’ प्रजिअ न्यौपानेले भने ।
प्रकाशित मितिः १४ चैत्र २०७६, शुक्रबार ००:३२
मुना हमाल ।