३५ जना क्वारेन्टाइनमा, एक बालक आइसोलेसनमा

मानबहादुर कुँवर/जुम्ला :  जुम्लामा ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगाउन उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।
पातारासी गाउँपालिकामा नौ जना, हिमा गाउँपालिकामा २४ जना तथा तिला गाउँपालिकामा र कर्णाली प्राविधिक शिक्षालयमा एक/एक जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

नौ जनालाई कर्णाली इन्स्टिच्युटमा राखिएको पातारासी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रतनबहादुर बुढ्थापाले जानकारी दिएका छन् । चार जना पुरुष, तीन महिला र तीन बालबालिकालाई समाजशास्त्री डोरबहादुर विष्टले निर्माण गरेको कर्णाली इन्स्टिच्युटमा राखिएको छ ।

हिमा गाउँपालिकाले पनि कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । सोही अनुसार भारतबाट आएका २४ जनालाई १४ दिनसम्मका लागि क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए ।

यसैगरी तिला गाउँपालिकाले ३० बेडको क्वारेण्टाइन स्थापना गरेको छ । वडा नम्बर २, ३ र ४ मा क्वारेन्टाइन निर्माण गरिएको हो । अहिलेसम्म तिलामा एक जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखा प्रमुख गणेशबहादुर शाहीले जानकारी दिएका छन् ।

रोजगारीका सिलसिलामा भारत गएर फर्किएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको हो । उनीहरुलाई १४ दिनेसम्म राखेर आवश्यक परीक्षण गरिनेछ ।

यसैबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक जना दश वर्षीय बालकलाई आइसोलेसनमा राखेको छ । जिल्लाको तातोपानी गाउँपालिका ती बालकलाई उच्च ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको हो । अत्याधिक ज्वरो बुधवार राती १० बजे उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पु¥याइएको थियो ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलका अनुसार कोरोना संक्रमणको आशंका लागेका व्यक्तिको नमूना परीक्षणका लागि काठमाडौं पठाउने तयारी गरिएको छ । नमूना शुक्रवार पठाइनेछ ।

प्रकाशित मितिः   १३ चैत्र २०७६, बिहीबार २०:२६