कर्णालीका तीन अस्पतालमा आइसोलेसन
सुर्खेत : कर्णालीका तीन वटा अस्पतालमा आइसोलेसन तयार गर्न प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ । बिहीवार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले दुर्ई वटा अस्पताललाई एक/एक करोड र एउटालाई ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
कोरोना भाईरस (कोभिड–१९)का संक्रमित विरामीहरूको उपचारका गर्न बजेट उपलब्ध गराइएको हो । यसका लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि एक/एक करोड उपलब्ध गराइनेछ भने रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख दिइनेछ ।
साथै ती अस्पतालहरूको समन्वय तथा परिचालन गर्न मन्त्रीहरुकै नेतृत्वमा समन्वय तथा परिचालन समिति गठन गरिएको छ ।
यसैगरी कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रदेश विपत व्यवस्थापन कोषमा मुख्यमन्त्रीसहित सबै मन्त्रिहरुले आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय पनि गरिएको छ । अन्य जनप्रतिनिधिहरू, कर्मचारी उद्योगी, व्यवसायी एवं ईच्छुक व्यक्ति तथा संघसंस्थाहरूलाई पनि उक्त कोष वृद्धिको लागि सहयोग गर्न अपिल गरिएको छ ।
बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्रीहरू आपुर्तीका लागि नेपाल सरकारसँग माग गर्ने र सरकारले तत्काल उपलब्ध गराउन नसक्ने भएमा प्रदेश सरकार आफैले खरिद तथा आपुर्ती व्यवस्था मिलाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।
प्रकाशित मितिः १३ चैत्र २०७६, बिहीबार १९:३१
साझा बिसौनी ।