दैलेख महोत्सव वैशाखमा

नवराज आचार्य 
दैलेख, १४ चैत । 
जिल्लामा रहेका पर्यटकीय स्थलहरूको प्रचार–प्रसार तथा कला संस्कृतिको संरक्षणका लागि दैलेख महोत्सव आयोजना गरिने भएको छ । दैलेख उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सव आगामी वैशाख १७ देखि २६ गतेसम्म सञ्चालन हुनेछ ।
विभिन्न ३२ जातजातिको उद्गमस्थल मानिएको दैलेखमा रहेका विभिन्न ऐतिहासिक वस्तुहरूको प्रचार–प्रसार सँगै राज्यको नीति निर्माणमा ध्यान पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघले जनाएको छ । महोत्सव आयोजनाका लागि जिल्लास्थित सबै सरोकारवालाहरूसँग छलफल समेत गरिसकिएको छ । सर्वपक्षीय भेलाबाट एक सय एक सदस्य रहेको मूल समारोह समिति समेत गठन गरेको छ ।
महोत्सवमा स्थानीय कला र संस्कृतिहरूका साथै जिल्लामा उत्पादन भएका विभिन्न वस्तुहरूको प्रदर्शनी समेत गरिने भएको छ । दैलेखमा थुप्रै पर्यटकीय तथा धार्मिक स्थलहरू 
भएकोले तिनको प्रचार–प्रसार गरी पर्यटन प्रबद्र्धनमा महोत्सवले सघाउ पुग्ने दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष शान्ति शर्माले बताए । जिल्लाका राजीतिक दलका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, स्थानीय विकास अधिकारी हरि प्याकुरेल, गैरसरकारी संस्था महासंघका अध्यक्ष महारूप खत्री लगायतले महोत्सव सिंगो दैलेखको विकाससँग पनि जोडिने भएकाले यसलाई सफल बनाउन सम्पूर्ण दैलेखवासी लाग्नुपर्ने धारणा राखेका थिए ।
प्रकाशित मितिः   १५ चैत्र २०७२, सोमबार ०४:१४