सुर्खेतमै तयार हुँदैछन् पीपीई

सुर्खेत : कोरोना भाइरस (कोभीड–१९) परिक्षणका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री(पीपीई)को अभाव भइरहेको बेला सुर्खेतमै यसको उत्पादन सुरु गरिएको छ । वीरेन्द्रनगरमा रहेका मुनाल गार्मेन्ट उद्योग र देउती होजियारीले पीपीई उत्पादन सुरु गरेका हुन् ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र प्रदेश अस्पताल सुर्खेतका चिकित्सक डा.नवराज केसीसँग समन्वय गरेर सामग्री उत्पादन सुरु गरिएको मुनाल गार्मेन्टका सञ्चालक भानुभक्त खड्काले जानकारी दिए । उनका अनुसार स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले प्रयोग गर्ने गरी व्यक्तिगत सुरक्षा सामग्री तयार हुँदैछन् ।

अहिलेलाई दुई हजार थान पीपीई तयार गर्ने जनाइएको छ । तर आवश्यक कच्चा पदार्थको भने अभाव भएको खड्काले बताए । यद्यपी दुई दिनमा दुई सय थान तयार गरिसकिएको छ । सम्भव भएसम्म आवश्यक सामग्री अन्यत्रबाट ल्याएर दुई हजार थान तयार पार्ने प्रयास भइरहेको उनले जानकारी दिए ।

अहिले स्वास्थ्य संस्थाहरुमा पीपीईको अभाव छ । जसले गर्दा कोरोना भाइरसको संक्रमण जाँच गर्ने स्वास्थ्यकर्मीहरु नै जोखिममा परेका छन् । अप्ठ्यारो परिस्थितिमा स्थानीय गार्मेन्टहरुसँग समन्वय गरेर उत्पादन सुरु गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । नेपाली सेनाका लागि आएको पीपीईको नमुना हेरेर गार्मेन्टका कालिगढले काम गरिरहेका छन् ।

 

प्रकाशित मितिः   १३ चैत्र २०७६, बिहीबार १८:०२