‘सेल्फ क्वारेन्टाइन’मा बस्दा पालना गर्नुपर्ने आचारसंहिता

सुर्खेत : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको छ । यो समयमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन रोक लगाइएको छ । सबै नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न सरकारले आग्रह गरेको छ । सेल्फ क्वारेन्टाइन भनेको सबैजना आ–आफ्नै घरभित्र साथ बस्नु हो । तर यसरी बस्दा थप सावधानि अपनाएको खण्डमा कोरोना संक्रमणका सम्भावित जोखिमबाट बच्न सकिन्छ । आफ्ना लागि आफैले यस्ता आचारसंहिता लागू गर्न सकिन्छ :

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु, र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तीमा एक मिटर दूरी राख्नेछु ।

२. म छुट्टै बाथरुम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरुम र शौचालय आफै सफा गर्नेछु ।

३. आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवात–जावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको (वा झ्याल खुला) सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिनँ ।

६. नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची–मिची २० सेकेन्डसम्म धुनेछु, वा हात सफा राख्न अल्कोहलयुक्त ह्याण्ड सेनिटाइजर प्रयोग गर्नेछु । हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७. मैले प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भाँडा, तौलीया र रूमाल, ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिनँ । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसँगको सम्पर्कमा आउनु पर्दा, म कम्तीमा एक मिटर (तीन फिट) को दूरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रूमाल वा कुहिनाले छोप्नेछु ।

११. आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, मास्क र अन्य चिजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फाले पछि तुरून्तै कम्तीमा २० सेकेन्डसम्मका लागि साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधै तयार रहनेछु ।

१३. म क्वारेन्टाइमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाच्नेछु र दिईएको फारममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थितिबारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायबाट प्राप्त निर्देशनहरू अनुरुप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको पूर्व अनुमतिबिना क्वारेन्टाइन स्थानभन्दा बाहिर यात्रा गर्ने छैन ।

यसरी आफूलाई आफैले उल्लेखित आचारसंहितामा राख्न सके विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न सकिने छ ।

प्रकाशित मितिः   १३ चैत्र २०७६, बिहीबार १५:५८