कर्णाली प्रदेशमा हुनुहुन्छ ? ग्यास र खाद्यान सकिए के गर्ने ?

मन्त्री भन्छन्, 'ग्यास सकिए डिलरमा जानुस्, नपाए हामीलाई खबर गर्नुहोस्'

सुर्खेत : सरकारले मंगलबार विहानदेखि एक हप्तासम्म देश ‘लकडाउन’ गरेको छ । नेपालमा पनि कोरोना संक्रमण पुष्टि भएपछि सरकारले सबैलाई घरभित्र बस्न आग्रह गरेको छ । अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन रोक लगाइएको छ भने अनुमति पाएकाबाहेक अरु सवारी साधन सञ्चालन हुन पाएका छैनन् ।

यस्तो बेला कतिपय उपभोक्ताको भान्सामा ग्यास सकिएको छ । खाद्यान्न तथा तरकारी कहाँबाट कसरी ल्याउने भन्ने चिन्ता पनि उस्तै छ । तपाईं कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरलगायत प्रदेशका अन्य जिल्लामा हुनुहुन्छ ? चिन्ता नलिनुस्, तपाईंले यसअघि जुन डिलर तथा पसलबाट ग्यास लिदै आउनु भएको थियो त्यहीँबाट लिन सक्नुहुन्छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा भन्छन्, ‘ग्यास सकिए डिलरमा जानुस्, नपाए हामी(सरकार)लाई खबर गर्नुहोस् ।’

प्रदेशको उच्चस्तरीय आपूर्ति समितिका संयोजक समेत रहेका उनले दश वटै जिल्लामा आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन आज (बिहीवार)देखि समितिलाई थप सक्रिय बनाएको जानकारी दिए । मन्त्री बुढाले साझा बिसौनी दैनिकसँगको कुराकानीमा भने, ‘ग्यास तथा खाद्यान्न आपूर्तिमा तत्काललाई त्यस्तो समस्या देखिएको छैन, नपाएर संकट आइपरे हामीलाई खबर गर्नुस्, सरकारले आवश्यक प्रबन्ध गर्छ ।’

खाद्यान्न तथा ग्यासका पसलहरु समय मिलाएर खोल्न भनिएकाले अत्यावश्यक सामग्री खरिदका लागि समय मिलाएर घरबाहिर निस्कन पनि पाइने उनले बताए । सरकारले भने ग्यास र दैनिक उपभोग्य खाद्य वस्तु लगायतका सेवा दिने पसलहरु बन्द गर्न नपाइने बताएको छ ।

यस्तै खाना पकाउने ग्यास ढुवानी गर्ने सवारी साधन नरोक्ने र वितरण पनि जारी राख्ने गरी व्यवस्था मिलाएको हो । ग्राहकको भीड नलाग्ने गरी सबै नागरिकको स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर विक्री वितरणको व्यवस्था मिलाउन आपूर्ति समिति लागि परेको मन्त्री बुढाले बताए । कसैले कालोबजारी गरेको पाइएमा कडा कारबाही गरिने समेत उनले जनाए ।

प्रकाशित मितिः   १३ चैत्र २०७६, बिहीबार १५:३४