कोरोना प्रतिकार्यमा प्रदेश सरकार सक्रिय, मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट
सुर्खेत :कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा प्रतिकार्यको कामलाई थप तिव्रता दिईने भएको छ । प्रदेशका मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट गरेर प्रतिकार्य योजनालाई तीव्र बनाइएको छ ।
बिहीवार विहान मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा विषयगत मन्त्री र सचिवहरुको संयुक्त बैठक बसेर हालसम्म भएका कामको समीक्षा गर्नुको साथै आगामी दिनमा प्रतिकार्यको कामलाई अझ तीव्र र प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।
बैठकमा मुख्यमन्त्री शाहीले विश्वव्यापी रुपमा देखिएको कोरोना संकटको सामाधान सरकारको तात्कालिन प्राथमिकतामा रहेको बताउँदै रोकथाम तथा प्रतिकार्यको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिए ।
विपद् व्यवस्थापन कार्यकारी समिति, अनुगमण समिति, आपुर्ति समिति तथा जिल्ला र स्थानीय तहका समितिहरुलाई थप सक्रिय बनाउन र कोरोना रोकथाम तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन पनि निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए ।
बैठकले स्वास्थ्यकर्मीहरुका लागि आवश्यक उपकरण, औजार, सुरक्षा सामाग्रि र औषधि लगायतका सामग्री तत्काल आपुर्तीका लागि संघीय सरकार, निजी आपुर्तीकर्ताहरु, बाह्य आपुर्तिकर्ताहरुलाई अनुरोध गर्नुको साथै सम्भावित सबै उपायहरु अबलम्वन गर्ने निर्णय गरेको छ ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लावाट जुम्ला, कालिकोट, मुगु, र हुम्ला जिल्ला, चौरजहारी सामुदायिक अस्पत्तालवाट रुकुम पश्चिम, जाजरकोट, डोल्पा र पुर्वी सुर्खेत जिल्लाको कार्यक्षेत्र तोकी जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ ।
प्रतिकार्य योजनाको लागि आवश्यक आर्थिक व्यवस्थापन तथा परिचालनका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई जिम्मेवारी दिने, प्रदेश राजधानी, जिल्ला र स्थानीय तहमा रहेका क्वारेन्टाईनको समन्वय सहजीकरण गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, प्रदेश अस्पताल र जिल्ला अस्पतालहरुमा शंकास्पद विरामीहरुलाई आईसोलेसनमा राख्ने, उपचार गर्ने र जनशक्ति परिचालन गर्ने कार्यको समन्वयको लागि सामाजिक विकास मन्त्री दल रावललाई जिम्मेवारी दिइएको छ ।
यसैगरि दशवटै जिल्लामा आपुर्ति व्यवस्थालाई प्रभावकारी बनाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाको नेतृत्वमा रहेको समितिलाई थप सक्रिय बनाउने पनि बैठकले निर्णय गरेको छ ।
प्रतिकार्य तथा पुर्वतयारीका कार्यहरुमा खट्ने समिति तथा युनिटहरुको नियमित बैठक, प्रतिवेदन कार्यका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको नेतृत्वमा हेल्प डेस्क संचालनमा ल्याउने र प्रतिवेदन, समन्वय तथा संचारको कामलाई विधुतीय तथा सामाजिक संजालको माध्यमबाट गर्ने निर्णय पनि बैठकले गरेको सुचना अधिकारी केशव उपाध्यायले जानकारी दिए ।
प्रकाशित मितिः १३ चैत्र २०७६, बिहीबार १४:२२
साझा बिसौनी ।