कोरोना प्रतिकार्य योजना : गाउँ केन्द्रीत हुँदै प्रदेश सरकार
सुर्खेत : कोरोना भाइरसको संक्रमण विरुद्धको प्रतिकार्यमा कर्णाली प्रदेश सरकार अब गाउँ केन्द्रीत हुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीवार बसेको मन्त्री तथा सचिवहरुको संयुक्त बैठकले अब गाउँमा केन्द्रीत गरेर योजना तथा काम गर्ने निर्णय गरेको हो ।
सरकारकी प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले विदेशबाट फर्किएकाहरु गाउँमा गइसकेको अवस्थामा हुनसक्ने जोखिम न्युनिकरण गर्न गाउँ केन्द्रीत योजना बनाइएको जानकारी दिईन् ।
अहिले धेरै मानिसहरु भारत तथा अन्य देशबाट फर्किएर गाउँ गइसकेका छन् । विशेष गरेर रोजागारीका लागि भारत गएका कर्णालीका धेरै नागरिक कोरोना त्रासपछि गाउँ फर्किएका छन् । उनीहरुलाई लक्षित गरी सुरक्षा योजना बनाईने जनाइएको छ ।
मन्त्री केसीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जुम्लासहित साविकका कर्णालीका पाँच वटा जिल्लालाई हेर्ने गरी जिम्मेवारी दिइएको छ । साविकका कर्णालीका अन्य जिल्लाबाट आएका बिरामीहरुको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्यवस्था गरिने उनले जानकारी दिईन् ।
यस्तै जाजरकोट, सल्यानको केही भाग र रुकुमपश्चिमलाई समेटेर रुकुमपश्चिमको जिल्ला अस्पताललाई जिम्मेवारी दिइएको छ । अस्पतालमा आइसोलेसन बेड तयार गरेर उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको उनले जनाईन् ।
बैठकले सरकारले बनाएको उच्च स्तरिय कार्यान्वयन समितिमा समाजिक विकास मन्त्रीलाई बढी जिम्मेवारी भएकाले आर्थिक मामिला तथा योजना मन्त्री र प्रदेशका मुख्य सचिवलाई सहजिकरण गर्न जिम्मेवारी दिइएको छ ।
क्वारेन्टाईन निर्माण तथा व्यवस्थापनका लागि भने सरकारकी प्रवक्ता एवंम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री केसीलाई जिम्मेवारी दिइएको छ । मन्त्री केसीले स्थानीय तहसँग समन्वय गरेर काम गरिने बताईन् । कति स्थानीय तहले के गरिरहेका छन् भनेर तथ्याङ्क लिने काम सुरु गरिएको पनि उनले जनाईन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो विषम् परिस्थितिको सबै मिलेर सामना गर्नुपर्ने भन्दै सरकारले विशेष ध्यान पु¥याउने बताए । उनले सरकारलाई सहयोग गर्न नागरिकसँग पनि अनुरोध गरेका छन् ।
मुना हमाल ।