क्वारेन्टाइन बनाउन ढिलाइ, भारतबाट आएकालाई होटलमा
सुर्खेत : कर्णाली प्रदेश सरकारले क्वारेन्टाइन निर्माणको काम अझै सकेको छैन । वीरेन्द्रनगरस्थित खुलामञ्चमा चारसय क्षमताको क्वारेन्टाइन बनाइँदै छ । त्यहाँ अहिले बेडसहितका केही सामग्री राख्ने काम मात्रै सुरु भएको छ । तर शौचालय, खानेपानी लगायतका अन्य सुविधा तयार गरिएको छैन ।
क्वारेन्टाइनको सबै काम सम्पन्न नहुँदा प्रदेश सरकारले भारतबाट फर्किएका व्यक्तिहरुलाई होटलमा राखेको छ । सामाजिक विकास मन्त्री दल रावलले क्वारेन्टाइनको काम भइरहेको जानकारी दिए । आवश्यक काम भइरहेको र छिटै सक्ने गरी नेपाली सेनाले काम गरिरहेको उनले बताए । ‘शौचालय, खानेपानी र विधुतको काम आजै सकिन्छ,’ मन्त्री रावलले साझा बिसौनीसँग भने, ‘भारतबाट फर्किएका व्यक्तिहरुलाई भोलिदेखि क्वारेन्टाइनमा राखिनेछ ।’
प्रदेश सरकारले गएको आइतवारदेखि क्वारेन्टाइन बनाउन सुरु गरेको थियो । कर्णाली स्वास्थ्य निर्देशनालका निर्देशक रिता भण्डारीले क्वारेन्टाइन बनाउने काम भइरहेकाले आवश्यक पूर्वाधार निर्माणको काम एक/दुई दिनमै सकिने बताइन् ।
गए राति भारतबाट आउँदै गर्दा नाकामा अलपत्र परेका नागरिकलाई प्रदेश सरकारले उद्दार गरेर सुर्खेत ल्याएको थियो । भारतबाट फर्किएका ५७ जनालाई वीरेन्द्रनगरस्थित एक होटलमा राखिएको छ । मन्त्री रावलले नाकामा अलपत्र परेका कर्णालीका नागरिकलाई राति नै उद्दार गरेर होटल अशोकामा राखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्तिहरुको स्वास्थ्य जाँच गरेर राखिएको हो ।
उद्दार गरिएका नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताइएको छ । यस्तै कञ्चनपुरको गड्डाचौकी नाकामा अलपत्र परेका ३२ जना कर्णालीका नागरिकलाई आजै उद्दार गरेर ल्याउन लागिएको छ ।
प्रकाशित मितिः १२ चैत्र २०७६, बुधबार १६:४८
मुना हमाल ।