एक अर्काको साहाराः चन्द्र र तारा
मनसँग गाँसिएको तन्तु हो खुशी । हरेक व्यक्तिका खुशी फरक–फरक हुने गर्छ । कसैले ढिँडो खान पाउँदा खुशी हुन्छ, कोही जागिर पाँउदा । बाबुआमा विदेश गएको छोरो घर फर्किदा खुशी हुन्छन् । एउटा बालक पहिलोपटक किताब बोकेर विद्यालय जान पाउँदा मख्ख पर्छ । कसैलाई कविता लेखेपछि संसारकै शक्तिशाली हुँ जस्तो लाग्छ ।
यो विशाल संसारमा चाहेको सबै प्राप्ती हँुदैन । आफूले गर्नसक्ने र आफ्नो वशमा भएको भन्ने प्रयास मात्र हो । आफूले प्रयास मात्र गर्न सकिन्छ । सफलता अर्कैको मातहतको विषय हो । यहाँ चन्द्रकुमार गिरी पनि ताराकुमारी गिरीलाई आफ्नो जीवनमा भिœयाउन पाउँदा आफूलाई खुशी मात्र होइन भाग्यमानी नै ठानेका थिए । गिरीले जसरी जीवनको दोस्रो अध्याय तारासँग सुरु गर्दा खुशीको वहार छाएको थियो जीवनमा त्यसरी नै आज पनि यो जोडीको जीवनमा त्यतिकै खुशीका बहार छाइरहेको छ । तारा भर्खर १० वर्ष की थिइन् । गिरी भने ‘त्यतिबेला राष्ट्रियस्तरकै भलिबल खेलाडी थिएँ ।’ उनको भलिबल खेलले तारालाई मोहनी नै लगाएको थियो । गिरीको तारा फ्यान नै थिइन् । फ्यान मात्र होइन मनमनै गिरीलाई ताराले मन पराउन थालेकी थिइन् । उनले भनिन्, ‘उहाँ त्यति बेला राष्ट्रिय भलिबल खेलाडी हुनुहुन्थ्यो, म उहाँलाई मनमनै मन पराउँथे ।’ ताराको बुबाको पसल थियो । उनी बाल्यकालदेखि नै बुबालाई पसलमा सघाउने गर्थिन् । पसलमा सघाउने मात्र होइन उनलाई व्यापार सम्बन्धी धेरै ज्ञान पनि भइसकेको थियो ।
चन्द्रकुमारको साथीले ताराको बुबाको घरमा पसल गरेका थिए । उही साथीको पसलमा उनी आउने जाने गरिरहन्थें । त्यसैक्रममा ताराको व्यापारमा लगाव र लगनशीलताले गिरीको मन पनि ताराप्रति विस्तारै नजिकिदैं थियो । ताराको कामप्रतिको लगनशीलताले आखिरमा गिरीको मन तानेरै छोड्यो । उनले भने, ‘म साथीको पसलमा गइरहन्थें, उनी आफ्नो पसलमा व्यापार गरेको सधैं देख्थेँ अनि यतिको राम्रो अनि लगनशील केटी भए आफ्नो जीवन राम्रोसँग चल्छ भन्ने सोचेर नै उनीप्रति मेरो मन नजिक भयो ।’ ताराले मनमनै सजाएको सपना पूरा हुने भयो । उनले गिरीलाई मन पराए पनि बिहे नै होला भनेर सोचेको भने थिइनन् । उनले भनिन्, ‘उहाँलाई मैले मन त पराउँथे तर, बिहे नै होला भनेर सोचेको भने थिइन् ।’ दुवैले एकअर्काेलाई मन पराएको कुरा दुवैले थाहा पाए पछि उनीहरूको प्रेम पाँच महिनासम्म चल्यो । उनीहरू भन्छन्, ‘हाम्रो पाँच महिनाको प्रेमलाई विवाहमा परिणत ग¥यौं ।’
उनीहरूले २०४५ सालमा भागी विवाह गरे । तारा ब्राम्हणकी छोरी उनको बाल्यकालदेखि नै सोच थियो कि अन्तरजातिसँग विवाह गर्ने । जुन सपना उनको पूरा पनि भयो । तर, ताराका बाबुआमाको मन दुख्यो । अहिलेको समाजले पनि अन्तरजतीय विवाहलाई पूर्णरूपमा स्वीकार गरिसकेको छैन भने उनीहरूले करिब तीन दशकअघि नै यस्तो विवाह गरेका थिए । घरकी कान्छी छोरी सबैले माया ममतामा हुर्काएका त्यसमा पनि उही छोरीले अन्तरजातीय विवाह गर्दा उनीहरू केही समय रिसाए पनि । यतिसम्म कि आफ्नो भन्दा फरक जातसँग विवाह गरी भनेर माइतीले छुटाउन पनि खोजे तर, उनीहरूको साँचो र सच्चा प्रेम थियो आखिरमा उनीहरूलाई कसैले छुटाउन सकेनन् । ताराको आमा अलि बढी नै रिसाए पनि बाबु भने छोरीको खुशीमा सहमत थिए । तर, बाबुआमाको मन न हो कति दिन आफ्ना सन्तानसँग रिसाउन सक्छन् र तारामा बाबुआमाले पनि तारालाई एक वर्षपछि नै माइतीमा बोलाइ हाले ।
१४ वर्षको उमेरमा विवाह गरेकी तारालाई विवाहपछि छोरी र बुहारी हुनुको अनुभव पनि फरक नै भयो । छोरी हुँदा बाबुआमासँग जे जस्तो व्यवहार गरेपनि सुहाउँछ तर, विवाहपछि सासु ससुरासँग सबैसँग बोल्दा समेत विचार पु¥याएर बोल्नुपर्ने यही अनुभव उनले पाइन् । पिता मनिराम गौली र माता चम्पाकली गौलीको कोखबाट २०३० सालमा सुर्खेतमा जन्मिएकी तारा बाल्यकालमा चञ्चले स्वभावकी थिइन् । बाल्यकालदेखि नै व्यापारका बारेमा जानकारी भएकाले होला उनलाई भविष्यमा व्यापार गर्ने नै सोच थियो । त्यही सपना पूरा गर्न उनीहरूले विवाहपछि आनन्द भाँडा पसल सुरु गरे । व्यापारमा राम्रो ज्ञान भएकाले तारालाई व्यापारमा कुनै समस्या भएन ।
चन्द्र भने खेलकुदको क्षेत्रमा यसरी लाग्छु भन्ने सोच थिएन । पिता रामलाल गिरी र माता लक्ष्मीमादेवी गिरीको कोखबाट २०२२ सालमा सुर्खेतको कटकुवा कोलेरीमा जन्मिएका उनको बाल्यकालको सोच एउटा शिक्षक बन्ने थियो । तर, समय र परिस्थितिले उनलाई खेलाडी बनायो । उनले कक्षा एकमा कोलेरीमै पढे । त्यसपछि बसाइँसराइँकै क्रममा उनीहरू ईत्राम–८ नम्बरमा आए । गिरीले कक्षा दुईदेखि ईत्राम स्कुलमा पढे । एसएलसी भने उनले जन उच्च माविबाट पास गरे । खेलकुदमा लाग्नुपर्छ भन्ने प्रेरणा भने उनले टेकनारायण अर्यालबाट पाए । उनी भलिबल खेलाडी भएकाले गिरीलाई पनि भलिबलमा नै आवद्ध गराए । खेलकुदमा लागेपछि गिरी खेलकुदमा नै रमाउन थाले । त्यसपछि उनको भविष्य पनि खेलकुदमा नै बन्न पुग्यो । उनले भलिबल खेलेर नै आफूलाई राष्ट्रियस्तरको खेलाडीको रूपमा स्थापित पनि गराउन सके । हाल उनी जिल्ला खेलकुद विकास समितिका अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।
विवाहपछि यो जोडी एकआपसमा कहिल्यै झगडा गरेनन् । श्रीमान् श्रीमती भएपछि कहिले काहीं सामान्य भनाभन हुनु त स्वभाविकै हो । तर, झगडा गरेर रिसाएर घरै छोडेर हिँड्ने अवस्था भने यो जोडीको आएको छैन । उनीहरू एकअर्काेप्रतिको विश्वास बलियो बनाएकै कारण झगडा नहुने बताउँछन् । गिरीलाई ताराको झगडा गरे पनि एकै छिनमा हाँसेर बोल्ने बानी मनपर्ने गर्छ । तारालाई पनि गिरीको नरिसाउने बानी मनपर्ने गर्छ । यो जोडी एकअर्काेको प्रशंसा मात्र होइन एकअर्काेलाई विशेष दिनहरू आउँदा गिफ्ट पनि दिने गर्छन् । एक छोरी र दुई छोरासँग कहिले काहीं पार्टी समेत गर्ने गर्छन् ।
उनीहरू भन्छन्, ‘दाम्पत्य जीवन सुखमय बनाउनको लागि एकअर्काेप्रतिको विश्वासलाई मजबुद बनाउनुपर्छ ।’ सम्बन्धमा जब विश्वास नै हुँदैन तब त्यो सम्बन्धमा खटपट आइरहन्छ । त्यसैले एकअर्काे बीचको सम्बन्ध जोगाइ राख्न वा दिगो बनाउनको लागि विश्वास, समझदारी हुन आवश्यकता छ । उनीहरूको अनुसार जीवन भनेको सङ्घर्ष हो । सङ्घर्ष विनाको जीवन अधुरो अपूरो नै हुन्छ । जीवनमा सफलता प्राप्त गर्नु छ भने सङ्घर्ष गर्नैपर्छ । तब मात्र जीवनमा सफलता प्राप्त गर्न सकिन्छ । अर्काे शब्दमा भन्दा जीवन भनेको खुशी हो ।
जीवन जस्तो भोगाइ भए पनि खुशीका साथ काट्न र एकअर्काे बीचको भावनालाई साट्न सके जीवन खुशी नै खुशी हो । उनीहरू भन्छन्, ‘जीवनसाथी भनेको एकअर्काेको दुःख–सुखमा साथ दिने र जीवनपर्यन्त हरेक पाइला पाइलामा सँगसँगै रहिरहने साथी नै हो ।’ आफ्ना मनमा गुम्सिएर रहेका कुरा कसैसँग भन्न नसकिएको कुरा एउटा साथीसँग मात्र खोल्न सकिन्छ त्यो हो जीवनसाथी । यदी कोही कसैको जीवनसाथी नै नहुने भएको भए सायद संसारमा माया प्रेमको अर्थ नै फरक हुने थियो होला । उनीहरू नवदम्पत्ती जोडीहरूलाई पहिला आफ्नो खुट्टामा उभिएर, पढाइ सकेर र विवाह भन्दा पहिला एकअर्काेको आनी बानी राम्रोसँग बुझेर मात्र विवाह गर्न सुझाव दिन्छन् । एकअर्काेबीचमा विश्वासको भावना जगाएर र सकारात्मक सोचका साथ जीवन अगाडि बढाउन सकेमा मात्र दाम्पत्य जीवन सफल हुने उनीहरूको भनाइ छ ।
प्रतुतीः गीता थापा
प्रकाशित मितिः १८ भाद्र २०७३, शनिबार ०९:३७
साझा बिसौनी संवाददाता ।