सदरमुकाम सुनसान, गाउँमा चहलपहल
मानबहादुर कुँवर / जुम्ला :
सरकारले आम नागरिकलाई अत्यावश्यक काम परेको अवस्थामा बाहेक बाहिर निस्कन रोक लगाएपछि मंगलवार जुम्ला सदरमुकाम खलंगा बजार सुनसान बनेको छ । एक साता लामो ‘लकडाउन’को पहिलो दिन अत्यावश्यक सवारी साधनबाहेक अन्य चलेका छैनन् ।
अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी सवारी साधन बन्द रहेको जिल्ला प्रहही कार्यालय जुम्लाका प्रमुख लालबहादुर धामीले जानकारी दिए । ‘ठाउँ–ठाउँमा सुरक्षाकर्मी तैनाथ छन्, माईकिङ समेत भईरहेको छ र अत्यावश्यक काममा बाहेक अन्यलाई हिंडडुल गर्न रोकिएको छ,’ डीएसपी धामीले भने । हवाइ सेवा पनि ठप्प छ भने बजार पनि पूर्ण रुपमा बन्द छ ।
कोरोना भाइरसको त्रासका कारण सहरबजार रित्तिएसँगै जुम्लाकोे गाउँ–बस्तीमा भने चहलपहल बढेको छ । रोजगारी र अध्ययनका लागि गाउँघर छोडेकाहरू भाइरसको त्रासले सहर छाडेर गाउँ फर्किएका छन् । केही दिन अघिसम्म सुनसान देखिएको जिल्लाको भेरिखोला क्षेत्रमा यतिबेला भने चहलपहल बाक्लो भएको तातोपानी–७ का हरि कुँवरले जानकारी दिए । ‘रोजगारीका लागि भारत गएका पनि भर्खर गाउँ पुगेका छन्, जमघट, भेटघाट र भिडभाड भईरहेको छ,’ उनले भने ।
तराई तथा शहरी क्षेत्रमा सम्भावनाको खोजी गर्दै बसाई सरेकाहरू समेत गाउँ घरमा भेटिन थालेको तातोपानी–७ सुर्किका गोर्खबहादुर रावतले बताए । भिडभाड बढेसँगै जोखिम पनि बढेको उनी बताउँछन् । ‘गाउँमा त्रास बढी, सर्तकता कम देखिएको छ’ रावतले भने ।
पछिल्लो एक हप्तामा सडक मार्गबाट मात्रै करिब एक हजार मानिस भित्रिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिल्ला प्रवेश गर्ने एक हजार एक सय ४१ जनाको हेल्थ डेस्क मार्फत स्वास्थ्य जाँच गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिईन् । नाग्म हेल्थ डेस्कमा एक हजार ४७, जुम्ला विमास्थलमा ८१ र हिमा गाउँपालिकामा ४० जनाको स्वास्थ्य परिक्षण गरिएको उनले जनाईन् । परीक्षण गरिएकामध्ये हालसम्म कसैलाई निगरानीमा राख्नु पर्ने अवस्था नहरेको बताइएको छ ।
प्रकाशित मितिः ११ चैत्र २०७६, मंगलवार १८:५०
साझा बिसौनी ।