लकडाउनको पहिलो दिन : कतै कार्यान्वयन, कतै अवज्ञा

सुर्खेत : कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेको आज पहिलो दिन । आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाइएको भए पनि कर्णालीमा भने यसको उल्लघंन गरिएको छ ।

मानिसहरु समूहमा हिंडडुल गरिरहेका छन् भने मोटरसाइकल, स्कुटर, अटोरिक्सा लगायतका सवारी साधनहरु पनि चलिरहेका छन् । सडकमा सुरक्षाकर्मी परिचालन गरिएको छ । तर कतिपय नागरिकले भने अटेर गरेर लकडाउनको अवज्ञा गरेका छन् ।

यसरी सरकारी निर्देशनको अवज्ञा गर्ने व्यक्ति र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ । सुर्खेतमा मात्रै करिब तीन सय ठूला तथा साना सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेशका दशवटै जिल्लामा लकडाउनको प्रभाव परेको छ । विशेष गरी सदरमुकाम र शहरी क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर यसको कार्यान्वयनमा कडाई गरिएपनि ग्रामीण क्षेत्रमा भने कुनै प्रभाव परेको छैन ।

ओपिडी सेवा बन्द
यसैबीच कर्णाली प्रदेश अस्पताल सुर्खेतले ओपिडी सेवा बन्द गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नकै लागि ओपिडी सेवा बन्द गरिएको चिकित्सक केएन पौडेलले जानकारी दिए ।

उनका अनुसार आपत्तकालिन सेवा भने सञ्चालनमा छ । ज्वरो आएका र रुघाखोकी लागेका बिरामीहरुको भने जाँच भइरहेको छ । यद्यपी अहिलेसम्म कसैलाई पनि आइसोलेसनमा राख्नुपर्ने अवस्था नआएको उनले जानकारी दिए ।

हटलाइन सेवा सुरु

प्रदेश सरकारले अलपत्र यात्रुको उद्धारका लागि हटलाईन सेवा सुरु गरेको छ । सरकारले लकडाउन गरेसँगै भारत तथा अन्य क्षेत्रबाट घर फर्किदै गरेका यात्रु बिचबाटोमा अलपत्र परेको अवस्थामा उद्धार गर्नका लागि हटलाइन सेवा सुरु गरिएको हो ।

आज बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । यदि बाटोमा कोही यात्रु अलपत्र परे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेको हटलाईन सेवाको १११० नम्वरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

सामाजिक विकास मन्त्री दल रावलका अनुसार हटलाईनमा प्राप्त सुचनाका आधारमा सरकारले यातायातको प्रबन्ध गरि अलपत्र यात्रुको उद्धार गर्ने छ । यसरी उद्दार गरिएका यात्रुको प्रारम्भिक स्वास्थ्य परिक्षण गर्ने तथा स्वास्थ्य अवस्थाका आधारमा क्वारेन्टाईनमा राख्नु पर्नेलाई क्वारेन्टाईनमा राख्ने र बाँकीलाई गन्तव्यसम्म पुराउने व्यवस्था सरकारले गर्ने मन्त्री रावलले जानकारी दिए ।

निजी स्वास्थ्यसंस्थासँग छलफल
प्रदेश सरकारले सुर्खेमा रहेका औषधि व्यवसायीहरुसँग छलफल गरेको छ । निजी अस्पताल, नर्सिङ होम र मेडिकल सञ्चालकहरुसँग छलफल गरिएको हो ।
उनीहरुलाई ओपिडीबाहेक आपत्तकालिन सेवाहरु २४ सैँ घण्टा संचालन गर्न सरकारले आग्रह गरेको छ । साथै नीजि नर्सिङ होम तथा अस्पतालहरुलाई आइसोलेसन बेड तयार गर्न र आवश्यक औषधिका लागि फार्मेसीहरु खुल्ला राख्न भनिएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । साथै उनले प्रदेशमा अहिले दुुई महिनासम्म पुग्ने औषधिको व्यवस्था भएको तर उपकरणहरुको समस्या हुुने सम्भावना भएकाले यका लागि सघीय सरकारसँग अनुरोध गरिएको जानकारी दिए ।

प्रकाशित मितिः   ११ चैत्र २०७६, मंगलवार १८:५७