लकडाउन अवज्ञा गर्नेे तीन जना प्रहरीको नियन्त्रणमा

उदयराज अधिकारी

दैलेख : दैलेखमा लकडाउनको अवज्ञा गर्दै सवारीसाधन चलाउने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सदरमुकाम दैलेख बजारमा लकडाउनको अवज्ञा गर्दै चलाईएका तिन वटा मोटरसाईकल सहित तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले जानकारी दिएका छन् ।

लकडाउनलाई मध्यनजर गरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको वलीले बताए । जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक सवारी साधानबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

यस्तै कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा न्यूनीकरण सम्बन्धी सावधानी अपनाउँदै दैलेखका पसलहरु पाँच दिनसम्म बन्द गर्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षमा बसेको बैठकले अत्यावश्यक सेवा बहेक व्यावसाय पाँच दिन सम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।