अलपत्र यात्रुको उद्धार गर्न हटलाईन सेवा सुरु

सुर्खेत : कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु भएसँगै बीच बटोमा अलपत्र परेका यात्रुको उद्धारका लागि कर्णाली प्रदेश सरकारले निशुल्क हटलाईन सेवा सुरु गरेको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा मंगलवार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले यस्तो निर्णय गरेको हो ।

कार्यकारी समितिका संयोजक तथा सामाजिक विकास मन्त्री दल रावलको अध्यक्षतामा सम्पन्न बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हटलाईन कक्ष रहने गरि १११० नम्बरको हटलाईन सेवा सुरु गर्ने निर्णय गरेको छ ।

घर फर्कने उद्धेश्यले यात्रा सुरु गरि लकडाउनका कारण बटोमा अलपत्र रहेका कर्णाली प्रदेशभित्रका नागरिकहरुले यो सेवाको उपयोग गरि सरकारलाई आफनो अवस्थाको बरेमा जानकारी दिन सक्ने सामाजिक विकास मन्त्री रावलले जानकारी दिए ।

मन्त्री रावलका अनुसार हटलाईनमा प्राप्त सुचनाका आधारमा सरकारले यातायातको प्रबन्ध गरि अलपत्र यात्रुको उद्धार गर्ने, उनीहरुको प्रारम्भिक स्वास्थ्य परिक्षण गर्ने तथा स्वास्थ्य अवस्थाका आधारमा क्वारेन्टाईनमा राख्नु पर्नेलाई क्वारेन्टाईनमा राख्ने र बाँकीलाई गन्तव्यसम्म पुराउने व्यवस्था गर्नेछ ।

रोजगारीका लागि भारत गएका कर्णाली प्रदेशका अधिकाँश नागरिक फर्कने क्रममा बीच बाटोमा अलपत्र परेको गुनासो प्राप्त भएपछि प्रदेश सरकारले यस्तो निर्णय लिएको हो ।

प्रकाशित मितिः   ११ चैत्र २०७६, मंगलवार १७:०६