सरकारको भर पर्दा थाकेपछि जागे खेलाडी
साझा बिसौनी संवाददाता
सुर्खेत, १७ भदौ ।
सरकारको भर पर्दा–पर्दै थाकेपछि सुर्खेतका ब्याटमिन्टन खेलाडीहरू कभर्डहल निर्माणका लागि आफै अघि सरेका छन् । खेलाडीहरूकै पहलमा सुर्खेतमा अत्याधुनिक सुविधासहितको बहुउद्देश्यीय कभर्ड हल निर्माण हुने भएको छ । यसका लागि पहल सुरु भइसकेको छ ।
सुर्खेत जिल्ला ब्याटमिन्टन संघले कभर्ड हलको जुन परिकल्पना गरेको छ त्यो निर्माणका लागि दुई करोड भन्दा बढी खर्च लाग्छ । तर व्याटमिन्टन संघ र खेलाडीहरू यति ठूलो रकम पनि जुटाउने विश्वासका लागि काममा जुटेका छन् । उनीहरूले आर्थिक स्रोत जुटाउन वैकल्पिक उपाय पनि अपनाएका छन् । सरकारले लगानी नगरेपछि विभिन्न रचनात्मक काम गरेरै भए पनि आर्थिक सङ्कलनमा संघ जुटेको छ । खेलाडीहरू आफै यसमा लागि परेका छन् ।
धुलाम्य कोर्टमा खेल्दै आएका यहाँका खेलाडीहरूले एउटा ब्याटमिन्टन कभर्ड हल निर्माणका लागि सरकारलाई नगुहारेका होइनन् । तर पटक–पटक गुहार्दा पनि सरकारले बेवास्ता गरेपछि उनीहरू आफ्ना लागि आफै अघि सर्नुपर्ने निर्णयमा पुगे र सरकारलाई चुनौती दिँदै अहिले आर्थिक सङ्कलनको कार्यमा जुटेका छन् । पछिल्लो समय जिल्लामा ब्याटमिन्टन खेलतर्फ आकर्षण बढ्दै गए पनि सुर्खेतमा एउटा कभर्ड हल नहुँदा खेलाडीहरू ओझेलमा परेकाले कभर्ड हल निर्माणको अभियान थालिएको जिल्ला ब्याटमिन्टन संघका महासचिव खिमलाल देवकोटाले जानकारी दिए ।
ब्याटमिन्टनलाई लक्षित गरेर कभर्ड हल निर्माण गरिने भए पनि यसलाई बहुउद्देश्यीय र बहुउपयोगी बनाइने देवकोटाले जनाए । सभा सम्मेलन गर्न सकिनेदेखि भलिबल, बास्केटबल लगायतका इन्डोर खेल सञ्चालन गर्न सकिने कोर्ट निर्माण गरिनुका साथै योग र प्राणयाम गर्ने सुविधा पनि कभर्ड हलमा हुने जनाइएको छ । कभर्ड हल निर्माण गर्न दुई करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ । अहिले खेलाडीहरू हल निर्माणका लागि आवश्यक दुई करोड जुटाउन विभिन्न उपाय अपनाइरहेका छन् । ब्याटमिन्टन संघको सदस्यता प्रदान गर्नेदेखि सहयोग सङ्कलन गर्ने कामसम्म भइरहेको जनाइएको छ ।
आर्थिक सङ्कलनकै लागि वीरेन्द्रनगरमा धार्मिक महोत्सव सञ्चालन गर्न लागिएको छ । आउँदो कार्तिक २५ गतेदेखि वीरेन्द्रनगरमा ‘मध्यपश्चिम धार्मिक महोत्सव २०७३’ सञ्चालन हुने भएको हो । कभर्डहलका लागि आर्थिक सहयोग जुटाउन महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव सञ्चालनका लागि तयारी भइरहेको आयोजक समितिले जनाएको छ । शुक्रवार महोत्सवको सचिवालय उद्घाटन र शान्ति कलश वितरण शुभारम्भ गरिएको हो । महोत्सवमा कथा वाचन गोविन्दशरण महाराजबाट हुने आयोजकले जानकारी दिएका छन् । महोत्सव सफल बनाउन यो प्रदेशका सबै जिल्लामा प्रचार–प्रसार गरिनेछ ।
प्रदेश नम्बर ६ लाई लक्षित गर्दै सुर्खेतमा सुविधा सम्पन्न कभर्डहल निर्माण गर्न लागिएको छ । सरकारी तवरबाट आर्थिक सहयोग प्राप्त नभएपछि जनस्तरबाट कभर्डहल निर्माणको अभियान सुरु भएको हो । जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले राज्यले बेवास्ता गरिरहँदा खेलको विकासका लागि जनस्तरबाट थालिएको अभियान सकारात्मक भएको बताए । उनले सबैको सहयोग भएमा कभर्ड निर्माण गर्न सकिने जनाए । यसैगरी कथावाचक गोविन्दशरण महाराजका निजी सचिव कोष खड्काले महायज्ञबाट सङ्लकन हुने रकमले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने कभर्डहल निर्माण गर्न आग्रह गरे ।
कभर्डहल निर्माणका लागि धेरै रकम आवश्यक पर्ने भएकाले रकम जुटाउन क्षेत्रीयस्तरको धार्मिक महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल समारोह समितिका महासचिव खिमलाल देवकोटाले जानकारी दिए । कार्तिक २५ गतेदेखि मंसिर २ गतेसम्म वीरेन्द्रनगरमा हुने धार्मिक महोत्सवमा करिब पाँच करोड रकम सङ्कलन गर्ने लक्ष्य राखिएको छ । कभर्ड हल निर्माण भएमा सुर्खेतबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने विश्वास जिल्ला ब्याटमिन्टन संघले लिएको छ ।
साझा बिसौनी संवाददाता ।