बाघले बाख्रा मार्न थालेपछि कृषक चिन्तित
साझा बिसौनी संवाददाता
सुर्खेत, १६ भदौ ।
बाघले बाख्रा मार्न थालेपछि कुनाथरी र तरंगाका कृषक चिन्तित बनेका छन् । कुनाथरीको जयपुर, भट्टेघारी र रानीवन तथा तरंगाको भाडेमा बाघले कृषकलाई सताएको छ ।
तीन महिनामा ५० वटा बाख्रा र चार वटा भैसी बाघको सिकार भएको कुनाथरी–९ जयपुरका जीतबहादुर शाहीले जानकारी दिए । उनका अनुसार असारदेखि बाघले बाख्रामाथि आक्रमण गर्नेक्रम बढेको छ । कुनाथरीकै रानीवनमा एक कृषकको खोरबाट समेत बाघले चार वटा बाख्रालाई सिकार बनाएको उनले जनाए ।
नजिकै बर्दिया राष्ट्रिय निकुञ्ज भएकाले पनि यस क्षेत्रमा बाघको बिगबिगी हुने गरेको छ । कुनाथरी–९ जयपुरमा लोकप्रिय जीवन बाख्रा फर्म सञ्चालन गरेका शाहीले बाघको बिगबिगीका कारण आफूहरूले आर्थिक नोक्सानी व्यहोर्नु परेको बताए ।
५० वटा बाख्रा बाघले सिकार बनाउँदा ८ लाखभन्दा बढी नोक्सान भएको उनले जनाए । बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघहरू गाउँमा पस्ने गरेको शाहीले बताए ।
साझा बिसौनी संवाददाता ।