खाद्यान्न जोहो गर्न पूर्वतयारी

कर्णाली प्रदेशमा खाद्यान्न अभाव हुन नदिन पूर्वतयारी थालिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण प्रदेशमा खाद्यान्न अभाव हुने सम्भावनालाई मध्यनजर गर्दै यस्तो तयारी गरिएको हो ।

प्रदेश सरकारले अत्यावश्यक वस्तुहरूको आपूर्ति व्यवस्थालाई सहज गराउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको संयोजकत्वमा उच्चस्तरीय आपूर्ति समिति बनाएको छ । उक्त समितिले शनिवारदेखि नै तयारी सुरु गरेको छ भने आज (आइतवार) सरोकारवालाहरूसँग छलफल गरिदैंछ ।

मन्त्री बुढाले कोरोना भाइरसको जोखिम बढ्दै गएर प्रदेशलाई पूर्ण रूपमा बन्द (लकडाउन) गर्नुपर्ने अवस्था आए त्यस्तो समयमा खाद्यान्न तथा अत्यावश्यक वस्तुको सहज उपलब्धताका लागि सरकारले तयारी थालेको जानकारी दिए । उनले आज (आइतवार) उच्चस्तरीय आपूर्ति समितिले सरोकारवालाहरूसँग छलफल गर्न लागेको जनाए । खाना पकाउने ग्याससहित खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको अवस्थाको बारेमा दुुई÷चार दिनमै टुुङ्गो लगाइने उनले बताए । ‘प्रदेशलाई लकडाउन गर्नुपर्ने भए कम्तीमा ६ महिनाका लागि खाद्यान्न मौज्दात राखेर मात्रै सरकारले त्यस्तो निर्णय गर्नेछ,’ मन्त्री बुढाले भने ।

सरकारले प्रदेशसँग जोडिएका सबै नाकामा कडाई गर्ने निर्णय गरिसकेको छ । सरकारले लकडाउन ग¥यो भने खाद्यान्नलगायत अति आवश्यक वस्तुुको अभाव हुने कर्णालीवासीको चिन्ता छ । तर खाद्य संस्थान सुर्खेतले भने अहिले नै चिन्तित हुनुपर्ने अवस्था नरहेको जनाएको छ । कार्यालय प्रमुख भीम थापाका अनुसार अहिले गोदाममा ४० हजार क्वीन्टल चामल मौज्दात छ । उनले सुर्खेतमा १७ हजार क्वीन्टल, जुम्लामा तीन हजार नौ सय ४८, कालिकोटमा दुई हजार आठ सय ८०, डोल्पामा ६ हजार, मुगुमा दुई हजार नौ सय, हुम्लामा दुुई हजार पाँच सय, दैलेखमा एक हजार पाँच सय, जाजरकोटमा तीन हजार पाँचसय र रुकुुमपश्चिममा दुई सय २० क्वीटल चामल रहेको जानकारी दिए । बजारमा भएको खाद्यान्नको अवस्थाका बारेमा पनि बुझ्ने तयारी सरकार सम्मिलित सर्वपक्षीय आपूर्ति समितिले गरेको छ ।

प्रकाशित मितिः   ९ चैत्र २०७६, आईतवार १०:१७