सतर्क कर्णाली

सीता वली/सुर्खेत,

उदयराज अधिकारी/दैलेख

मानबहादुर कुँवर/जुम्ला : 

कोरोना भाइरस(कोभीड–१९)को सम्भावित जोखिमबाट बच्न यतिबेला कर्णाली प्रदेश सतर्क बनेको छ । प्रदेश भित्रिने नाकाहरूमा केही दिन पहिलेदेखि स्वास्थ्य चाँज र निगरानी थालिएकोमा आइतवारदेखि प्रदेशका सबैजसो जिल्लामा क्वारेन्टाइन र आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ ।

भारत र नेपालका साथै देशभित्रकै अन्य स्थानबाट प्रदेशको सीमा नाका भइ कर्णाली भित्रिने व्यक्तिमा कोरोना संक्रमणको जोखिम उच्च हुन सक्ने आँकलन गर्दै प्रदेश तथा स्थानीय सरकारहरूले सतर्कता अपनाएका हुन् । कोरोना संक्रमणको त्रासले भारतबाट फर्किएका प्रदेशवासीका लागि प्रदेशका विभिन्न स्थानमा क्वारेन्टाइन निर्माण गरी तयारी अवस्थामा राखिएको छ ।

प्रदेश सरकारले कोरोना भाइरस संक्रमणको रोकथामका लागि प्रदेश राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा आइतवार साँझसम्म चार सय क्षमताको क्वारेन्टाइन बनाएको हो । नेपाली सेनाको सहयोगमा निर्माण गरिएको उक्त निगरानी कक्षमा बाहिरबाट फर्किएका व्यक्ति तथा संक्रमणको शंका भएकालाई १४ दिन राखिनेछ । प्रदेशको विपद् व्यवस्थापन उच्चस्तरीय समितिले प्रदेश राजधानीमा एक हजार क्षमताको क्वाारेन्टाइन बनाउने निर्णय गरेको थियो ।

यसैगरी प्रदेश सरकारले क्वारेन्टाइनको अभाव हुने सम्भावित अवस्थालाई मध्यनजर गर्दै होटल व्यवसायी संघसँग छलफल गरिसकेको छ । होटेलहरू समेत प्रयोग गर्नुपर्ने अवस्था आए होटल खाली गरेर क्वारेन्टाइन तथा आइसोलेसनका लागि दिन सकिनेमा व्यवसायीहरू सहमत भइसकेका छन् ।

कर्णाली प्रदेश विपद् व्यस्थापन परिषद् र कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यान्वयन समितिको संयुक्त बैठकले गरेको निर्णय अनुसार खुलामञ्चमा क्वारेन्टाइन निर्माण गरिएको सामाजिक विकास मन्त्री तथा विपद् व्यवस्थापन कार्यान्वयन समितिका संयोजक दल रावलले जानकारी दिए । उनले हालको लागि चारसय बेड क्षमताको मात्रै क्वारेन्टाइन निर्माण गरिएको र संक्रमणको अवस्था हेरी थप ६ सय क्षमताको समेत निर्माण गर्ने बताए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यलयको केन्द्रीय कार्यालयको क्षेत्रमा अवस्थाअनुसार थप ६ सय क्षमताको क्वारेन्टाइन निर्माण गर्ने तयारी पनि गरिएको छ । जुनसुकै क्षेत्रबाट आएको व्यक्ति भए पनि कर्णालीमा प्रवेश गर्नेहरूलाई क्वारेन्टाइनमा राखिने मन्त्री रावलले बताए ।

यसैबीच मन्त्री रावलको संयोजकत्वमा रहेका उच्चस्तरीय समितिको आइवार बसेको बैठकले वडा स्तरसम्म क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ । ‘यसबारे आजै पालिका तथा वडा स्तरसम्म निर्देशन गरिसकेका छौं,’ मन्त्री रावलले भने । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पालिका र वडा स्तरको समिति निर्माण गरी गाउँमा समेत क्वारेन्टाइन निर्माण गर्न अनुरोध गरिएको उनले बताए ।

गाउँमा संक्रमण देखिएको अवस्थामा वीरेन्द्रनगरमा निर्माण गरिएका आइसोलेसनमा ल्याएर उपचार गर्ने गरी तयारी थालिएको छ । समितिको बैठकले क्वारेन्टाइन व्यवस्थापनको जिम्मा नेपाली सेनाका पितृनापति सरोजप्रताप रानालाई दिएको छ । यातायात व्यवस्थाका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयका उप–सचिवको संयोजकत्वमा समिति गठन गरिएको छ । मेडिकल सामग्रीको व्यवस्थाको लागि सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्व र शान्ति सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयोजकत्वमा उप–समिति गठन गरिएको छ ।

दैलेखमा पाँच सय बेडको क्वारेन्टाइन

दैलेखको नारायण क्याम्पस र तर्ताङ्गमा रहेको सरस्वती माध्यमिक विद्यालयलार्ई क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने तयारी गरिएको छ । जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिले यस्तो निर्णय गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।
प्रजिअ कट्टेलका अनुसार यदि कोरोना संक्रमणको शंका लागेमा यी दुवै स्थानमा गरी करिब पाँच सय बिरामीहरूलाई राखेर उपचार गर्न सकिनेछ । यसबोहक दैलेखमा पाँच स्थानमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । कर्णाली प्रदेश राजधानीसँग सिमाना जोडिएको गुराँस गाउँपालिकाको गुराँसे, आठबिस नगरपालिकाको राकम, नौमूलेको प्रवेशद्वार तामे, डुङ्गेश्वर गाउँपालिकाको तल्लो डुङ्गेश्वर र जिल्ला प्रशासन कार्यालयमा गरी पाँच स्थानमा आवतजावत गर्नेलाई कोरोना चेक गर्न हेल्थ डेस्क सञ्चालन गरिएको जिल्ला अस्पताल दैलेखका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए ।

जिल्लामा कोरोना भाइरसका संक्रमित फेला परेमा आपतकालीन उपचार गर्न स्वास्थ्य कार्यालयमा १४ वटा र इन्द्रदल गुल्ममा चार वटा गरी १८ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ भने जिल्ला प्रहरी कार्यालय दैलेखमा १५ बेडको क्वारेनटाइन निर्माण गरिएको छ । जिल्लाका नागरिकहरूलाई कोरोना संक्रमण हुन नदिन ११ वटै स्थानीय सरकाले आफ्नो क्षेत्रमा आवतजावत गर्ने र बसोवास गर्ने नागरिकहरूलाई चेक जाँचका साथै जनचेतनाका कार्यक्रम पनि सञ्चालन गरेका छन् ।

जुम्ला ‘लक डाउन’

कोरोना संक्रमण रोकथामको पूर्वतयारीका लागि जुम्ला एक साताका लागि ‘लक डाउन’ गरिएको छ । आइतवार बसेको विपद् व्यवस्थापन समितिको बैठकले सोमवारदेखि १६ गतेसम्म जिल्लालाई पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो ।
अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन तथा कोरोनाको जोमिखबाट बच्न एक हप्ताका लागि ‘लक डाउन’ नीति अपनाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । उनका अनुसार मानिसको भिडभाड कम गर्न र कोरोनाको प्रतिकार्य गर्नका लागि यस्तो निर्णय गरिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर मंगल रावलले कोरोना संक्रमरणको जोखिम र सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै ‘लक डाउन’ गर्ने निर्णय स्वागतयोग्य भएको बताए । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बेडको आइसोलेसन बेड तयारी अवस्थामा राखिएको जानकारी पनि दिए । त्यसका साथै जुम्ला बहुमुखी क्याम्पसमा पनि एक सय बेडको क्वारेन्टाइन राख्ने निर्णय भएको छ ।

जुम्लाको पर्यटकीय स्थल तातोपानी धारामा समेत प्रवेशमा निषेध गरिएको छ । दैनिक भिडभाड हुने भएकोले अर्को सूचना नभएसम्मका लागि धारमा नुहाइ–धुवाइमा प्रतिबन्द लगाइएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले जनाए । अत्यावश्यक सामग्रीको व्यवस्थापन गर्न उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयोजकत्वमा, उद्योग वाणिज्य संघ, जुम्लासहितको १५ सदस्यीय समिति गठन गरिएको छ ।

व्यवसाय बन्दको आह्वान

सुर्खेतमा आज (सोमवार) देखि अत्यावश्यक पसलबाहेक अन्य व्यवसाय बन्द हुने भएका छन् । आइतवार सुर्खेत उद्योग वाणिज्य संघ र विभिन्न वस्तुगत समितिको संयुक्त बैठकले व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।
अत्यावश्यक दैनिक उपभोग्य वस्तु (खाद्य, खुद्रा तथा किराना पसल, मेडिकल, तरकारी पसल, नास्ता पसल तथा इन्धन तथा पेट्रोलियम पदार्थ बिक्री वितरण) बाहेकका अरू सबै पसल पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए ।

‘आधारभूत उपभोग्य वस्तुको कृत्रिम अभाव वा कालोबजारी नगरी सहजरूपमा वस्तु तथा सेवा प्रवाह गर्न, ग्राहक उपभोक्ता धेरै भिडभाड नगराई सरकार तथा चिकित्सकद्वारा निर्धारित मापदण्ड अपनाई आफ्नो र ग्राहकको सुरक्षाका लागि सतर्कता र सुरक्षाविधि अपनाउन अनुरोध छ,’ संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ । अर्काे निर्णय नआउँदासम्म बजार पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको संघले जनाएको छ ।

गाउँमा जोखिम बढी

कोरोना भाइरसको संक्रमण शहरभन्दा गाउँमा हुन सक्ने जोखिम बढेको छ । कर्णालीबाट रोजगारीका लागि भारत गएकाहरू धमाधम गाउँ फर्किएसँगै गाउँमा कोरोना संक्रमण फैलिने जोखिम बढेको हो । बबई लगायतका नाकाहरूमा बाहिरबाट आएकाहरूको सामान्य स्वास्थ्य जाँच गर्ने गरिएको भए पनि रातिको समय तथा अन्य स्थानहरूबाट प्रदेशभित्र प्रदेश गर्नेको संख्या पनि उच्च छ । भारतबाट आएका नागरिकलाई दुई साता अनिवार्य क्वारेन्टाइनमा राख्ने गरी क्वारेन्टाइन निर्माण गरिए पनि दैनिक हजारौंको संख्यामा कर्णालीवासी गाउँ पसेका छन् ।

यता एक हजार बेड क्षमताको क्वारेन्टाइन निर्माण गर्ने निर्णय भएको तीन दिन पछि मात्रै प्रदेश राजधानी वीरेन्द्रनगरमा क्वारेन्टाइन निर्माण गर्न सुरु गरिएको छ । प्रदेश सरकारले भारतमा रहेका कर्णालीका सबै नागरिकहरूलाई दश दिनभित्र आइसक्न आह्वान गरेको थियो । यद्यपि भारतबाट कर्णालीवासी फर्किने मुख्य नाका जमुनाहमा भने आइबारदेखि आवागमन बन्द गरिएको छ । कर्णाली प्रदेश सरकारले निर्णय गर्नु अगावै कोरोनाको त्रासले भारतमा रहेका नेपाली घर फर्किसकेका थिए ।

दैनिक ६ हजार भित्रिए

कोरोनाको त्रासले दैनिक ६ हजार बढी नागरिक कर्णाली भित्रिएका छन् । रोजगारीको शिलशिलामा भारत गएका वा अध्ययनका लागि कर्णाली छोडेका नागरिक दैनिकजसो ठूलो संख्यामा कर्णाली भित्रिने गरेका हुन् । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुसार प्रदेश नं. ५ र कर्णाली प्रदेशको सिमाना बबईबाट मात्रै दैनिक ६ हजार बढी मानिसहरू भित्रिने गरेका हुन् । वाग्लेले हेल्थ डेस्क सुरु गर्दा दैनिक तीन हजारको हाराहारीमा मानिसहरू भित्रिने गरेको भए पनि हाल बढेर ६ हजारभन्दा बढी कर्णाली भित्रिने गरेको बताए । नाकामा कोरोना चेकजाँचमा उच्च सतर्कता अपनाइएको उनले दाबी गरे ।

प्रकाशित मितिः   १० चैत्र २०७६, सोमबार ११:५१