दुर्घटनामा चार जना घाइते

सुर्खेतमा बसले अटोरिक्सालाई कुल्चिँदा चार जना घाइते भएका छन् । शनिवार दिउँसो कर्णाली प्रदेश अस्पताल नजिकै ना २ ख ६८२३ नम्बरको बसले
भे १ ह ३७२० नम्बरको अटोलाई कुल्चिएको हो ।

अटोमा सवार बाँसगढी नगरपालिका–५ बर्दियाकी २१ वर्षीया नन्दा गिरी, रचना गिरी, कल्पना गिरी र अटो चालक महावु गाउँपालिका दैलेखका चक्रबहादुर शाही घाइते भएका हुन् । दुई जनाको अवस्था भने सामान्य रहेको छ । घाइतेमध्ये अटो चालक शाही र बर्दियाका नन्दा गिरीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । बसको टायरमुनी पर्दा नन्दाको हात समेत चुँडिएको छ । पश्चिमबाट आइरहेको बसले पूर्वबाट अस्पतालतर्फ गइरहेको अटोरिक्सालाई कुल्चिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए । घाइतेहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । बस र बसका चालक डुङ्गेश्वर गाउँपालिका दैलेखका डम्बर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मितिः   ९ चैत्र २०७६, आईतवार १०:१३