कोरोनाविरुद्ध स्थानीय सरकारको घरदैलो

जिल्लाको पातारासी गाउँपालिकाले कोरोना भाइरसबाट संक्रमण हुन नदिन सचेतना अभियान चलाएको छ । सचेतना जगाउने उद्देश्यले जनप्रतिनिधिसहितको टोली घरदैलोमा पुगेको हो । कोरोनाबारे नागरिकलाई सचेत गराउन अभियान चलाइएको पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले बताए ।

‘गत बिहीवारदेखि पालिकाभरीकाका ७ वटै वडामा करिब २७ वटा गाउँबस्तीमा पुग्ने गरी अभियान थालेका छौं,’ अध्यक्ष बोहोराले भने । सचेतना अभियान पूर्वमा पर्ने १, २, र ३ वडाका बस्ती तल्फी, पेरे, छुमचौर लगायतका गाउँमा पुगेको उनले जानकारी दिए ।

गाउँपालिकाले पातारासीमा रहेको कर्णाली इन्सिच्युटलाई आइसोलेसन बनाउने तयारी गरेको छ । स्वास्थ्यकर्मी सहितको टोली लिएर गाउँगाउँ पुगी सर्वसाधारणलाई कोरोनाबाट बच्ने उपाय तथा यसको मनोवैज्ञानिक त्रासलाई कम गर्न परामर्श समेत दिने गरिएको गाउँपालिकाले जनाएको छ । गाउँमा सन्देशमूलक पर्चा पम्पलेट समेत वितरण गरिएको छ, भने पायक पर्ने वडाका आधारमा गाउँपालिकामा रहेका चार स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ । कोरोना संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाएको गाउँपालिकाले स्थानीयसँग छलफल तथा परामर्श गर्दै आएको गाउँघरमा स्वास्थ्य भन्दा बढी काममा ध्यान दिने, पशुचौपायकै रेखदेखमा अधिकांश समय बिताउने भएकाले पनि गाउँगाउँमा सचेतना अभियान सञ्चालन गरिएको पातारासीका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । गाउँपालिकाले हेल्थ डेक्स राख्नेदेखि गाउँ–गाउँमा चेतना फैलाउने अभियान थालेकोले कोरोनाको त्रास हुने स्थिति नरहेको पातारासी–७ का वडा अध्यक्ष लालबहादुर बुढाले बताए । २५ जनाभन्दा बढी भेला नहुन सरकारले निर्देशन गरिसकेकाले गाउँघरमा हुने कुनै
मेला, पर्व, उत्सवसमेत नगर्न सुझाव दिएको उनले बताए ।

प्रकाशित मितिः   ९ चैत्र २०७६, आईतवार १०:०६