‘तीजलाई भड्किलो नबनाऔं’

साझा बिसौनी संवाददाता
सुर्खेत, १६ भदौ ।
तीजलाई भड्किलो नबनाउन आग्रह गर्दै बिहीवार वीरेन्द्रनगरमा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) प्रदेश नं. ६ कि इन्चार्ज हरीमाया शर्माले तीज मनाउने नाममा ऋण गरेर तीजलाई भड्किलो गराउन नहुने भन्दै आफ्नो क्षमता अनुसारको खर्च गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
यसैगरी कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जीतबहादुर राना रञ्जितले तीजको नाममा विकृती बढिरहेको समयमा ती विकृतिहरूको अन्त्य गर्ने जिम्मा क्रान्तिकारी महिलाहरूको भएको बताएका छन् । कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य पुष्पा घर्तीमगर लगायतको उपस्थिति रहेको थियो ।