अभिभावकविहीन बालबालिकाका लागि, ‘आवासीय स्कुल सञ्चालन गर’

14124057_1241478582563743_1075483099_oसाझा बिसौनी संवाददाता
सुर्खेत, १६ भदौ ।
आदर्श उच्च मावि गुमीमा पढ्दै गरेकी सुष्मा रसाइलीकी आमा दोस्रो बिहे गरेर गइन् । उनका बाबुले पनि दोस्रो बिहे गरे । घरमा भएका दाइभाउजु भारतर्फ लागे । आफन्तहरू सबैले बेवास्ता गरेपछि सुष्मा हाल एक्लै छिन् । अभिभावक नभएपछि उनको पढाइमा समस्या उत्पन्न भएको छ ।
न बस्ने ठेगान छ, न त खाने कुनै टुङ्गो । अभिभावकले छोडेपछि बेसाहारा बनेकी सुष्मा अहिले स्थानीयको सहयोगमा कक्षा ६ मा अध्ययनरत छन् । गाउँको घरमा एक्लै बस्दै आएकी उनले भनिन्, ‘घरमा कोही छैनन्, आफै काम गर्दै स्कुलमा आउने गरेकी छु । काम गर्नेकी, स्कुलमा आउने ? पढ्ने रहर भएर मात्र हुँदो रहेनछ, साथ दिने आफन्त नै छैनन् ।’ बाबुआमाले दोस्रो बिहे गरेर आफूलाई छोडिदिएको र दाइभाउजुले पनि एक्लै छोडेर भारततर्फ गएपछि समस्या भएको उनको दुखेसो छ ।
गुमीकै डीलसरा सुनार जन्मदिने आमाबाबुले छोडेपछि अहिले गाउँमा आफन्तको घरमा शरण लिन पुगेकी छन् । आदर्श उच्च माविमा कक्षा सातमा पढ्दै गरेकी उनले विद्यालयमा पुगेको शिक्षा मन्त्रालयको टोलीसँग भनिन्, ‘केही संस्थाले कापी र कलम दिएका छन्, त्यसैको भरमा स्कुल आउँछु । आफन्त नै नभएपछि बस्न र खान समस्या छ, सरकारले नै हामी जस्ताका लागि आवासीय स्कुल सञ्चालन गर्न मिल्दैन र ?’ उनले भावुक हुँदै आमाबाबु र आफन्त नभएकाहरूका लागि बस्न र खाने सुविधासहितको विद्यालय सञ्चालन गर्न सरकारसँग आग्रह गरिन् । बालिकाहरूले पीडा सुनाइरहँदा शिक्षा मन्त्रालय अन्तर्गतको योजना शाखाका अधिकृत लक्ष्मण बस्याल र लैंगिक शाखाका लज्जावन्ती दाहाल पनि भावुक बने । विद्यालयमा जम्मा भएका स्थानीय अभिभावकहरूले पनि मन्त्रालयको टोलीलाई सरकारले नै अब अभिभावकविहीन बालबालिकाको शिक्षाका लागि आवासीय विद्यालय सञ्चालन गर्न आग्रह गरे ।
सुष्मा र डीलसरा अभिभावक नभएका प्रतिनिधिमूलक पात्र हुन् । जिल्लामा अहिले पनि अभिभावकविहीन दर्जनौं बालबालिकाहरू छन् । जो विद्यालय जानबाट वञ्चित हुनुपर्ने अवस्था छ । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष याम गुरुङले भने, ‘बालिकाहरूलाई विद्यालयमा आउन समस्या छैन, मुख्य समस्या भनेको उनीहरूलाई खान र बस्न हो । यस्तो समस्या भएका बालबालिकाको शिक्षाका लागि राज्यले नै आवासीय विद्यालय खोल्नु पर्छ ।’ यस्तै विद्यालयका प्रधानाध्यापक धनपति ढकालले शिक्षा सबैको अधिकार भएको भन्दै अब अभिभावकविहीन बालबालिकाको लागि आवासीय विद्यालय स्थापना हुनुपर्ने बताए । यस्तो भएमा मात्र सबैले शिक्षा पाउने छन् । संघ–संस्थाहरूले पोशाक र शैक्षिक सामग्री सहयोग गरेका कारण विद्यालयसम्म आए पनि अभिभावक नभएका बालबालिकाहरूलाई खान र बस्नको समस्या भइरहेको उनको भनाइ छ । साथै उनले खाना र बस्नको व्यवस्था नहुँदा उनीहरूको शिक्षा प्राप्तीमा बाधा उत्पन्न भएको बताए ।
बालिका र अभिभावकहरूको गुनासो सुनेपछि शिक्षा मन्त्रालयका योजना अधिकृत बस्यालले हाल प्रदान गरिने छात्रवृत्ति उपयोगी नभएको बताए । उनले भने, ‘छात्रवृत्ति कनिका छरेजस्तै भएको छ, त्यतिले मात्र खर्च धान्दैन । अब वास्तविक समस्या भएका बालबालिकाको लागि विशेष व्यवस्था आवश्यक छ, त्यसका लागि सरकारले नै आवासीय विद्यालयबारे
सोच्नेछ ।’ सरकारले देशका केही स्थानमा आवासीय विद्यालय सञ्चालनको योजना बनाउने र त्यसले बालबालिकाको शिक्षामा टेवा पुग्ने उनको भनाइ छ । सरकारले नै आवासीय विद्यालय सञ्चालन गर्ने विषयमा आफूले मन्त्रालयमा कुरा उठाउने उनले प्रतिबद्धता जनाए । यस्तै मन्त्रालयबाट आएकी लज्जावन्ती दाहालले बालिकाहरूको शिक्षामा सरकार गम्भीर हुनुपर्ने बताइन् । अर्काको घरमा काम गरेर स्कुल जानुपर्ने बाध्यतालाई समाधान गर्ने एक मात्र उपाय अब आवासीय विद्यालय सञ्चालन नै भएको उनको भनाइ छ । जिल्लाका विभिन्न गाविसमा बालिका शिक्षाका लागि ग्लोबल एक्सनले बैनी शिक्षाका लागि दिदी कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसका लागि यूकेएड र भीएसओ नेपालले आर्थिक सहयोग प्रदान गरेका छन् । ग्लोबल एक्सनका जिल्ला कार्यक्रम संयोजक यादव भुषाल भन्छन्, ‘अभिभावक नहुँदा बालिकाहरू विद्यालय जान नपाउने समस्या छ, हामीले उनीहरूका लागि केही सहयोग प्रदान गर्दै आएका छौं । तर बालिकाहरूलाई खान र बस्नको मुख्य समस्या देखिएको छ, त्यसका लागि अब सरकारले नै आवासीय विद्यालय सञ्चालन गर्नेतर्फ सोच्न जरुरी छ ।’ राज्यबाटै आवासीय विद्यालयहरू सञ्चालन भएमा अभिभावकविहीन बालबालिकाहरूका लागि सजिलो हुने उनको भनाइ छ ।