पीडित हुनेमा महिला धेरै

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ भदौ ।
द्वन्द्वबाट पीडित हुनेहरूमा महिला तथा बालबालिका धेरै रहेको तथ्याङ्क सार्वजनिक भएको छ । दलित महिला उत्थान संघ बर्दियाको आयोजना तथा यूएनडीपीको आर्थिक सहयोगमा बुधवार वीरेन्द्रनगरमा गरिएको अन्तरक्रिया कार्यक्रमका यस्तो जानकारी दिइएको हो ।
स्थानीय शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले द्वन्द्वबाट पीडित हुनेहरूमा महिला तथा बालबालिका नै धेरै रहेको बताए । उनले भने, ‘द्वन्द्वपीडितहरूको तथ्याङ्क सङ्कलनबाट नै स्पष्ट छ द्वन्द्वका बेला पीडित हुनेहरूमा धेरै महिला र बालबालिका नै रहेका छन् ।’ स्थानीय शान्ति समितिमा हालसम्म द्वन्द्वबाट प्रभावित र पीडित भएका महिला तथा बालबालिकाहरूको आठ सय निवेदन परेको थापाले जानकारी दिए । उनले राज्य पक्षबाट नै कामको फितलो भएका कारण द्वन्द्व प्रभावित महिला तथा बालबालिकाहरूले शान्तिको अनुभूति अझैसम्म गर्न नपाएको बताए । उनले भने, ‘पहिला द्वन्द्वका समयमा यौन शोषण र मानसिक तनाव पाएकाहरूलाई पीडित भित्र पारिएको थिएन अहिले उनीहरूलाई पनि द्वन्द्वभित्र पारिएको हुँदा निवेदन धेरै आएको हो ।’
स्थानीय शान्ति समितिका सचिवालय सदस्य समेत रहेकी द्वन्द्वपीडित शान्ति ढकालले वास्तविक द्वन्द्वपीडित भन्दा पनि गैरद्वन्द्व पीडितहरूले राहत पाएको बताइन् । उनले भनिन्, ‘हामी जस्ता वास्तविक पीडितलाई जहिले अवसरबाट वञ्चित
पारिन्छ गैर द्वन्द्वपीडितलाई माथि पु¥याइन्छ ।’
अर्का सचिवालय सदस्य प्रताप पौडेलले सरकारको नीति र नियम नै फितलो भएका कारण महिला तथा बालबालिकाले अझैसम्म शान्तिको अनुभूति गर्न नपाएको बताए । कार्यक्रममा दलित महिला उत्थान संघका बिमला विक, एकल महिला संघका अध्यक्ष शितलसिंह राठोर, डिला आचार्य लगायत अगुवा महिलाकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १६ भाद्र २०७३, बिहीबार १०:४५