दौंतरीले सम्झाएपछि, घरबार त्यागेर नियमित स्कुल

1साझा बिसौनी संवाददाता
सुर्खेत, १५ भदौ ।
सुर्खेतको छिन्चुस्थित प्रभात माविमा कक्षा सातमा पढ्दै गर्दा दीपा विकले भागेर विवाह गरिन् । १४ वर्षको कलिलो उमेरमै विहे गरेपछि उनको पढाइबीचमै रोकियो । घरको काम र परिवारको दबाबमा उनी तीन वर्षसम्म विद्यालय जान पाइनन् । पढेर ठूलो मान्छे बन्ने रहर पूरा गर्न अन्ततः दीपाले आफैले रोजेको श्रीमान्सँग सम्बन्धविच्छेद नै गरिन् ।

श्रीमान्सँग डीभोर्स गरेकी दीपा अहिले पुनः साथीहरूसँगै झोला बोकेर नियमित विद्यालय जान्छिन् । हाल कक्षा ९ मा पढ्दै गरेकी दीपा भन्छिन्, ‘पहिले हतारमा विहे गरेँ, विवाह भएपछि त स्कुल नै जान पाइनँ । सँगैका साथीहरू डे«स लगाएर स्कुल जाँदा निकै पीडा हुन्थ्यो, तर म भने घरको काममा व्यस्त हुन्थेँ ।’ सानैदेखि आफूले नर्स बन्ने रहर पालेको भन्दै उनले विहे गरेपछि स्कुल जान नपाएको दुखेको पोखिन् । ‘ठेस लागेपछि मात्र थाहा हुँदो रहेछ, बिहेपछि मात्र होस खुल्यो’ उनले भनिन्, ‘मेरो सानैदेखि नर्स बन्ने रहर छ, त्यही रहर पूरा गर्न मैले घरवार नै त्यागिदिएँ । घरकाले स्कुल जान नदिएपछि म डीभोर्स गर्न बाध्य भएँ, अहिले मलाई स्कुल जान रोक्ने कोही छैनन् ।’

यस्तै मैनतडाकी १७ वर्षीया मञ्जु विकले नचाहेर पनि बीचमै पढाइ छोड्नुपर्ने भयो । परिवारले आर्थिक अवस्था कमजोर भएको भन्दै स्कुल पढाउन नसक्ने बतायो । आफन्तहरूले पनि मञ्जुलाई विहे गर्न दबाब दिए । जसले गर्दा एक वर्षसम्म उनको पढाइ बीचमै रोकियो । धेरै पढेर डाक्टर बन्ने सपना बुनेकी अञ्जु अन्ततः घरपरिवार नै छोडेर हिँडिन् । अहिले छिन्चुमा रहेको ठूली आमाको घरमा काम गरेर पढ्दै गरेकी मञ्जुले भनिन्, ‘मलाई अहिले नै विहे गर्ने रहर छैन, स्टाफ नर्स बनेर मात्र विहे गर्ने सोच छ । घरमा बस्दा विहेको मात्र कुरा गरे, त्यसैले म अहिले ठूली आमाको घरमा बसेर पढ्दै छु ।’ हाल १० कक्षामा अध्यनरत उनले बीचमा एक वर्ष स्कुल जान पाइनन् । अब जस्तोसुकै कठिन अवस्था आए पनि आफूले विद्यालय नछोड्ने उनको भनाइ छ ।

आफ्नो पढ्ने रहर पूरा गर्नका लागि घरवार र परिवार नै त्यागेर विद्यालयमा फिर्ता हुने दीपा र मञ्जु केवल प्रतिनिधिमूलक पात्र हुन् । घरबाट सहयोग पाउँदा पनि विभिन्न वहाना बनाएर बीचमै विद्यालय छोडेकाहरू पनि हिजोआज धमाधम पुनः विद्यालयमा भर्ना हुन थालेका छन् । प्रभात मावि छिन्चुमा हाल कक्षा ८ मा पढ्दै गरेकी सपना सुनारले आर्थिक अवस्था कमजोर भएपछि बीचमै पढाइ छोडिन् । तर, उनका दांैतरीहरूले सम्झाइ बुझाइ गरेर स्कुलमा भर्ना गरे । स्थानीय किशोरीहरू मिलेर सपनाका लागि विद्यालय पोशाक, किताब र कपीको लागि सहयोग गरे । त्यसपछि उनी नियमित विद्यालय जान्छिन् । सपनाले भनिन्, ‘गाउँका अरु साथीहरूले पनि स्कुल जान छोडे, त्यसपछि मलाई पनि पढ्न मन लागेन । दुई वर्षसम्म त म स्कुल गइन्, पछि सबै साथीहरूले कर गरेपछि फेरि नाम लेखाएँ ।’ उनले अब एसएलसी पास गरेर नर्स पढ्ने र सेवा गर्ने आफ्नो योजनासमेत सुनाइन् ।

घरको आर्थिक अवस्था कमजोर, बालविवाह र अरुको लहलहैमा लागेर बीचमै विद्यालय छोडेकाहरू पछिल्लो समय पुनः विद्यालयमा फिर्ता हुन थालेका छन् । बीचमै पढाइ छोडेका किशोरीलाई विद्यालयमा ल्याउन हिजोआज जिल्लाका अधिकांश गाविसमा किशोरीहरू नै खटिएका छन् । किर्डाक नेपालले ग्रामीण क्षेत्रमा गठन गरेका संवाद केन्द्र र आशा सञ्जालमा आवद्ध भएर किशोरीहरूले विद्यालय छोडेकाहरूलाई पुनः विद्यालयमा भर्ना गराउन थालेका हुन् । किशोरीहरू सक्रिय भएपछि पुनः विद्यालयमा फिर्ता हुनेहरूको संख्या बढ्दै गएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । सहायक जिल्ला शिक्षा अधिकारी निलकण्ठ रेग्मीले भने, ‘बीचमै पढाइ छोडेका बालबालिकाहरू पुनः विद्यालय आउन थालेका छन्, यो सकारात्मक पक्ष हो । किशोरीहरूले सम्झाउँदै स्कुलसम्म ल्याउन सहयोग गरेका छन्, यसलाई निरन्तरता दिन जरुरी छ ।’

किशोरीहरूलाई विद्यालयमा टिकाउनका लागि किर्डाक नेपालले जिल्लामा आशा सञ्जाल गठन गरेको छ । उक्त सञ्जालमा आवद्ध किशोरीहरूले नै विद्यालय छोडेकाहरूलाई विद्यालयमा भर्ना गराउन थालेका हुन् । आशा सञ्जालको पूर्वी क्षेत्रको नेतृत्व गर्दै आएकी कल्पना बुढाले भनिन्, ‘हामीले आफै स्रोत जुटाएर पोशाक र किताबको लागि सहयोग गर्छौं, हामीले सम्झाएपछि धेरै किशोर–किशोरीहरू विद्यालयमा फिर्ता भएका छन् । पोशाक नभएकै कारण पनि पढाइ छोड्ने समस्या छ, बालविवाहले पनि धेरैको पढाइ रोकिएको छ ।’ मैनतडामा पुनः विद्यालय फर्काउने अभियानको नेतृत्व गर्दै आएकी बिमला परियारले भनिन्, ‘हामीले पढाइको महŒव बुझाउने गरेका छौं, सकेजति सहयोग पनि गर्छौं । यसले किशोरीहरू पुनः विद्यालयमा आउन थालेका छन् ।’

प्रकाशित मितिः   १६ भाद्र २०७३, बिहीबार १०:३५