बसपार्क सञ्चालनमा ढिलाई
सुर्खेत : निर्माणमै आठ वर्ष लागेको वीरेन्द्रनगरको सिटी बसपार्क अझै सञ्चालनमा आएको छैन । गत असारमा निर्माण कार्य सम्पन्न भएको बसपार्क व्यवसायी र वीरेन्द्रनगर नगरपालिकाको किचलोका कारण सञ्चालन हुन नसकेको हो ।
पुरानो बसपार्कमा व्यवसाय गरी बसेका ४१ जना व्यावसायीहरूले नगर प्रमुख देवकुमार सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालविरुद्ध उच्च अदालत सुर्खेतमा मुद्दा दायर गरेपछि बसपार्कको टेण्डर प्रक्रियामा ब्रेक लागेको थियो । सिटी बसपार्क सञ्चालनका लागि मंसिर १६ गते वीरेन्द्रनगर नगरपालिकाले ठेक्काको सूचना प्रकाशित गरेको थियो ।
वि.सं. २०६८ साल असार ३ गते वीरेन्द्रनगर नगरपालिका र व्यवसायीहरूसहित बसेको सर्वदलीय बैठकले साविकको पुरानो बसपार्कमा व्यापार गरिरहेका व्यवसायीलाई बसपार्क निर्माणपश्चात व्यापार व्यवसाय गर्न दिने निर्णय गरेको र सो निर्णयविपरीत २०७६ असोज ११ गते वीरेन्द्रनगर नगरपालिकाको बैठकले स्वीकृत गरेको कार्यविधिका आधारमा ठेक्का टेण्डर सूचना प्रकाशित गरेपछि व्यवसायीहरूले रिट दायर गरेका थिए । व्यवसायीहरूको उक्त कुराको सुनुवाइ गर्दै अदालतले ठेक्का रद्द गर्न आदेश दिएपछि कार्य सम्पन्न भए पनि बसपार्क सञ्चालनमा आउन नसकेको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । तर व्यवसायीहरूले दिएको रिटलाई फागुन ८ गते उच्च अदालत सुर्खेतले खारेज गरिसकेको उच्च अदालत सुर्खेतका सूचना अधिकारी वीरेन्द्र मल्लले जानकारी दिए । उनका अनुसार व्यापारीहरूलाई टेण्डर प्रक्रियामा प्राथमिकता दिनेगरी उच्च अदालत सुर्खेतले आदेश दिएको हो ।
उच्च अदालत सुर्खेतले पुराना व्यवसायीहरूले दिएको रिट खारेज गर्दा समेत बसपार्क भने सञ्चालनमा आउन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत ढकालले अदालतको आदेशपश्चात टेण्डर प्रक्रियाहरूको मूल्यांकन गरिएको बताए । टेण्डर प्रक्रियाको मूल्यांकन गर्दा अस्वभाविक आएको भन्दै ढकालले सम्झौता गर्नको लागि आशयको सात दिने सूचना प्रकाशित गरेको जनाए ।
‘हामीहरूले आशयको सूचना निकाली सकेका छौं,’ उनले भने, ‘सम्झौता गर्न नआएको खण्डमा पुनः दोस्रो प्रक्रिया अगाडि बढाउनुपर्छ ।’ उनले समयमै बसपार्क सञ्चालनका लागि काम अगाडि बढाएको भए पनि प्रक्रिया पु¥याउँदा ढिला भएको बताए ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले अब छिट्टै बसपार्क सञ्चालनमा ल्याउने तयारी भएको बताए । उनले पुराना व्यवसायीहरू असन्तुष्टि हुँदा केही समय बसपार्क सञ्चालनमा बाधा भएको भन्दै अब भने अदालतको आदेश अनुसार बसपार्क सञ्चालनको प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।
निर्माण कार्य सुरु हुनु अगावै काममा ढिलाइ भएको बसपार्क निर्माण सम्पन्न भएको नौ महिना बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन । जसले गर्दा यात्रु तथा यातायात व्यवसायीहरू मर्कामा परेका छन् । सिटी बसपार्कमा व्यवसाय सञ्चालनका लागि ५४ वटा सटर, शौचालय, बगैंचा, गाडी मर्मतका लागि वर्कसप, टिकट काउण्टरलगायतका संरचना निर्माण गरिएको छ ।
प्रकाशित मितिः ७ चैत्र २०७६, शुक्रबार ०८:५९
साझा बिसौनी ।