जहाँ भिडभाड, त्यहीँ लापरवाही
मुना हमाल/सीता वली : बिहीवार दिउँसो करिब दुई बजे राष्ट्रिय वाणिज्य बैँकको सुर्खेतस्थित कार्यालयमा पुग्दा सेवाग्राहीको बाक्लो भिड थियो । कोही लाइनमा थिए भने कोही कुर्चीमा बसिरहेका थिए । एक÷डेढ सयको हाराहारीमा जम्मा भएका सेवाग्राहीको भिडले बैंकभित्रको हल नै उकुसमुकुस भइरहेको थियो । केहीबाहेक अधिकांशले मास्क प्रयोग गरेका थिएनन् ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले २५ जना भन्दा बढी भेला समेत नहुन निर्देशन दिएको छ । तर सधैंजसो भिडभाड भइरहने बैंकको दृश्य भने बदलिएको छैन । न कुनै थप सुरक्षा संवेदनशीलता अपनाइएको छ । बरु कोरोनाको त्रास बोकेर सेवाग्राहीहरू आफ्नो पालो कतिबेला आउँछ भनी कुरिरहेका थिए । बैंककै लाइनमा भेटिएकी सिम्ता गाउँपालिका वडा नं. ८ डाँडाखालीकी तिलारानी क्षेत्रीले डरैडरमा बैंकभित्र छिरेको बताइन् । आफूले मास्क लगाएर आए पनि धेरैले मास्क नलगाउँदा उनको मनमा डर पलाएको थियो । ‘बैंकमा आउने धेरैले मास्क लगाएका छैनन् । डर त लागिहाल्छ । काम नगरी नहुने । गाह्रो छ’ उनले भनिन् ।
वाणिज्य बैंक मात्रै होइन सुर्खेतका अधिकांश बैंक र अन्य सार्वजनिक स्थलहरूको अवस्था पनि यस्तै छ । सरकारको निर्देशन पालना गरिएको छैन । धेरै मानिसहरू जम्मा हुने ठाउँमा समेत सम्बन्धित निकायले ध्यान दिएको छैन । सबैजसो सार्वजनिक स्थलहरूमा सामान्य अवस्थामाजस्तै भिडभाड देख्न सकिन्छ । कोरोनाको संक्रमण हुन नदिन अपनाउनुपर्ने संवेदनशीलता पनि अपनाइएको छैन ।
सुर्खेत बसपार्कको अवस्था पनि बैंकको जस्तै छ । सवारी साधनहरूसँगै यात्रुहरूको बाक्लो भीड लागिरहेको हुन्छ । त्यसमाथि धुलोले उत्तिकै सकस बनाएको छ । त्यहाँ पनि कोरोना संक्रमणप्रति कुनै संवेदनशीलता अपनाइएको छैन । बसपार्कमा सुर्खेतभित्रका साथै कर्णाली प्रदेशका अन्य नौं जिल्ला र बाँके, काठमाडौं लगायतका ठाउँबाट गाडी आउँछन् । जसले गर्दा सवारी साधनका साथै यात्रुहरूको पनि उत्तिकै चाप छ । तर बसपार्कमा एउटा हेल्थ डेस्क समेत राखिएको छैन । जसले गर्दा थप जोखिम बढेको छ ।
बसपार्कका व्यवसायीहरू भने सरकारले आवश्यक ध्यान नदिएको बताउँछन् । सरकारले निर्णय मात्र गरेको र व्यवहारिक रूपमा चाहिँ लागू नगरेको उनीहरूको भनाइ छ । काँक्रेविहार यातायात प्रा.लि.का याम गुुरुङले हेल्थ डेस्क राख्न सरकारले ध्यान दिनुपर्ने बताए । एउटै गाडीमा ४० जना यात्रु हुने भएकाले भिडभाड हुने गरेको बताउँदै उनले कसरी सुरक्षित बनाउने भन्नेतर्फ सरकारले कदम चाल्नुपर्ने जनाए । ‘बसपार्कमा हेल्थ डेस्क राखेको भए राम्रो हुन्थ्यो’ उनले भने, ‘सबैले मास्क पनि लगाउँदैनन् । यहाँ धेरै ठाउँबाट यात्रु आउने भएकाले सरकारले ध्यान दिनुपर्छ ।’
त्यसो त बसपार्क र बैंक मात्र होइन सेवाग्राहीहरूको चाप हुने अन्य कार्यालयहरूमा पनि सरकारी निर्देशनको पालना गरिएको छैन । यस्तै मध्येको एक हो, जिल्ला मालपोत कार्यालय । बिहीवार दिउँसो मालपोत कार्यालयमा पुग्दा साविकमा जस्तै सेवाग्राहीको उपस्थिति थियो । तर कार्यालयले कोरोना लक्षित कुनै सजगता भने अपनाएको देखिएन । कार्यालय प्रमुख लक्ष्मी खत्री भने २५ जनाभन्दा कम जम्मा हुने अवस्थाको सिर्जना आफ्नो कार्यालयमा हुन नसक्ने बताउँछिन् । ‘हाम्रो कार्यालयमा २५ जना मात्र जम्मा हुने भन्ने सम्भव हुँदैन’ उनले भनिन्, ‘लाइनमा बस्नुपर्छ । कार्यालय खुुल्ला भइरहेको बेलामा सेवाग्राही आइरहन्छन् । कि कार्यालय नै बन्द गर्नुुप¥यो ।’ यद्यपि व्यवस्थापनका लागि आफूले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेको उनले बताइन् ।
कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सरकारले जिल्लाका कतिपय स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । विशेष गरेर विभिन्न नाकाहरूमा डेस्क राखिएको छ । तर त्यस्ता डेस्क नै पनि जोखिममुक्त भने छैनन् । अव्यवस्थित रूपमा सञ्चालन गरिएका छन् । स्वास्थ्य जाँच गर्दा ठूलो संख्यामा मानिसहरू जम्मा हुने गर्दछन् । यात्रुहरूको जाँच गर्ने नाममा अनावश्यक भिडभाड गराएर झन जोखिम बढाएको गुनासो नागरिकले गरेका छन् ।
- नाकामा उच्च निगरानी
कर्णाली प्रदेश भित्रिने मुख्य नाका बबईमा सञ्चालित स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) मा उच्च सतर्कता अपनाइएको छ । छिमेकी मुलुक भारतबाट फर्किनेको जाँचमा निगरानी बढाइएको हो । भारतमा कोरोना संक्रमित बिरामी बढ्दो क्रममा रहेपछि कर्णाली सरकारले नाकामा उच्च सतर्कता अपनाएको छ । भारतसँगको खुला सीमानाका कारण संक्रमितहरू सहज आउन सक्ने भएकाले चौबिसै घण्टा उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको छ ।
भारतमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि रोजगारीका क्रममा त्यहाँ रहेकाहरू घर फर्कन थालेका छन् । यसले गर्दा नेपालगन्ज–सुर्खेत (रत्न राजमार्ग) मा यात्रुको चाप बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले रत्न राजमार्गको बबईबाट दैनिक एक सय बढी यात्रु भारतबाट फर्कने गरेको बताए । उनकाअनुसार बबई हेल्थ डेस्कमा बुधवार थप ३२ स्वास्थ्यकर्मी र उपकरण पठाइएको छ ।
प्रदेश सरकारले बबईका साथै उत्तरी छिमेकी मुलुक चीनसँग सीमा जोडिएको उत्तरी नाका हुम्लाको हिल्सा, राप्ती राजमार्गमा पर्ने सल्यानको कपुरकोट, सुर्खेत विमानस्थल र पश्चिम सुर्खेतको कुइनेमा हेल्थ डेस्क स्थापना गरेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत विमानस्थलमा दैनिक ४५, बबई नाकामा दैनिक तीन हजार, हुम्ला विमानस्थलमा दैनिक ४०, पश्चिम सुर्खेतको कुइनेबाट दैनिक ६०, सल्यानको कपुरकोट नाकाबाट दैनिक एक हजार जना यात्रुको ज्वरो, रुघाखोकी जाँच गर्ने गरिएको छ ।
- विश्वविद्यालय बन्द
मध्यपश्मिाञ्चल विश्वविद्याालयले पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण सजकताका लागि बिहीवारदेखि विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसहरूमा पठनपाठन रोकेको हो । अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सबै शैक्षिक कार्यक्रम बन्द हुने विश्वविद्यालयले जनाएको छ ।
यसैबीच, विद्यार्थी संगठनहरूले चैत महिनाभर विद्यालयहरूमा पठन–पाठन नहुने भएकाले निजी विद्यालयलाई विद्यार्थीबाट शुल्क नलिन आग्रह गरेका छन् । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हरि शर्मा, अनेरास्ववियु सुर्खेतका अध्यक्ष धुपेन्द्र शाही र अखिल छैटौंका कर्णाली प्रदेश संयोजक हरिबहादुर बुढाद्वारा बिहीवार जारी संयुक्त विज्ञप्तीमा यस्तो आग्रह गरिएको हो ।
- आयोगको परीक्षा स्थगित
लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गरेको छ । चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उप–सचिव एकनारायण शर्माले जानकारी दिए । लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको शर्माले विज्ञप्तीमार्फत जनाएका छन् ।
‘संक्रमणको आँकलन गरेका छैनौं’
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई पनि जोखिमयुक्त देशको रूपमा राखेपछि कर्णाली प्रदेश जोखिममा नहुने कुरै छैन । तर हालसम्म कर्णालीका कुनै पनि व्यक्तिलाई कोरोनाको संक्रमण देखिएको छैन । गएको महिना र यो महिनामा गरी ६ जनाले कोरोनाको परीक्षण गरेकोमा नेगेटिभ रिजल्ट आएको छ ।
कोरोना भित्रिन नदिन हामीले उच्च सतर्कता अपनाएका छौं । जिल्ला अस्पतालहरूलाई पूर्व तयारीमा रहन निर्देशन दिएका छौं । स्वास्थ्यकर्मीहरूलाई अत्यावश्यक अवस्थामा बाहेक काज र बिदामा नबस्न भनेका छौं । सबै नागरिक सचेत भएको खण्डमा जनशक्ति र औषधिको अभाव हुँदैन । नागरिकस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम पु¥याइएको छ । चेकजाँचका लागि कर्णाली भित्रिने नाकाहरूमा उपकरणसहितका तालिमप्राप्त स्वास्थ्यकर्मी खटाइएको छ । कर्णालीमा हुनसक्ने सम्भावित संक्रमणको आँकलन भने हामीहरूले गरेका छैनौं । आम नागरिक सचेत हुने कुरा नै महत्वपूर्ण हो ।
‘आइसुलेशन र क्वारेन्टाइन तयार छन्’
सबैभन्दा पहिले त कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) भित्रिन दिनै हुँदैन । यसको लागि सबै नागरिक सचेत हुनुपर्छ । कर्णालीमा संक्रमण फैलिन सक्ने सम्भावनालाई देखेर हामीहरूले आइसुलेशन र क्वारेन्टाइनको व्यवस्था गरेका छौं । कर्णाली प्रदेश अस्पतालमा पाँचवटा आइसुलेशन बेड र क्वारेन्टाइनमा २० वटा बेडको व्यवस्था गरिएको छ । प्रदेश अस्पतालमा प्रशस्त ठाँउ छ । सरकारले क्वारेन्टाइनका लागि आवश्यक पर्ने सामग्री दियो भने आइसुलेशन र क्वारेन्टाइन बढाउन सकिन्छ । त्यसका साथै हामीहरूले ओ.पी.डी. जानुभन्दा अगाडि साबुन पानीले हात धोएर जाने, ज्वरो आएका बिरामीलाई छुट्टै लाईन लगाउने खालको व्यवस्था मिलाएका छौं ।
नागरिक स्वयम् सचेत भए कोरोनाको संक्रमणबाट बच्न सकिन्छ । पटक–पटक मिचीमिची हात धुने र रुघाखोकी लागेको व्यक्तिबाट दुईदेखि तीन मिटर टाढै बस्नुपर्छ । भिडभाडमा नजाने, ज्वरो आएको खण्डमा पनि अस्पताल नगइ घरमै आराम गर्ने, प्रशस्त झोलिलो कुराहरू खाने गर्नुपर्छ । घरमा कसैलाई संक्रमण भएको खण्डमा छुट्टै बस्ने व्यवस्था मिलाउने गर्नुपर्छ । यदि कोरोना भित्रियो भने नियन्त्रण गर्न गाह्रो हुन सक्छ । अन्तर्राष्ट्रिय तथ्यांक हेर्ने हो भने दशौं हजारमा संक्रमण फैलिएको छ ।
प्रकाशित मितिः ७ चैत्र २०७६, शुक्रबार ०९:०८
साझा बिसौनी ।