सेनेटरी प्याडले छात्रा नियमित
हरिडिल भूमि माध्यमिक विद्यालय कक्षा–९ मा अध्ययनरत आकृति थापालाई विद्यालयमै महिनावारी हुँदा बीचमै पढाइ छोडेर घर फर्किनुपथ्र्यो । तर अहिले विद्यालयमै सेनेटरी प्याड पाइने भएपछि उनको पढाइ नियमित भएको छ । आकृति भन्छिन्, ‘महिनावारी भएपछि बीचमै पढाइ छोडेर घर जान्थँे, अहिले धेरै सजिलो भएको छ ।’
वीरेन्द्रनगर–१४ स्थित सिद्ध माध्यमिक विद्यालय कक्षा ९ मै अध्ययरत सम्झना हमाललाई पनि विद्यालयमै महिनावारी भएपछि पढाइ छोडेर घर जानुपर्ने बाध्यता थियो । पढाइसँगै अतिरिक्त क्रियाकलाप समेत छुट्थ्यो । अहिले विद्यालयमा सेनेटरी प्याड पाउन थालेपछि महिनावारीमा पनि उनको पढाइ नियमित भएको छ । जिल्लाका अधिकांश विद्यालयमा सेनेटरी प्याड व्यवस्थापन गर्न थालेपछि आकृति र सम्झनाजस्ता थुप्रै छात्राहरू अहिले विद्यालयमा नियमित हुने गरेका छन् । विद्यालयले सेनेटरी प्याडको व्यवस्थापन गर्दा महिनावारी हुँदा पढाइ छोडेर जानुपर्ने बाध्यता हटेको मात्रै छैन स्वच्छ महिनावारीको प्रबद्र्धन समेत भएको छ । महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरूमा समेत विद्यालयमा छात्राहरूलाई बुझाउन थालिएको छ ।
केही विद्यालयले औषधि र आराम कक्षको पनि व्यवस्था गरेका छन् । यसले गर्दा महिनावारीलाई छात्राहरूले सामान्य रूपमा लिन थालेका हरिडिल भूमि माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रा हमालले बताइन् । ‘सेनेटरी प्याडको व्यवस्थापनपछि छात्राहरू नियमित विद्यालय आउन थालेका छन्,’ उनले भनिन्, ‘छात्राहरूले महिनावारी भएको समयमा पनि सहज मान्ने गरेका छन् ।’ उनका अनुसार छात्राहरू महिनावारी भएको समयमा विद्यालयमा भन्न लजाउने, विद्यालय नियमित नहुने र आफूलाई परेको समस्या सहजै भन्न नसक्ने अवस्था थियो । सुरुमा विद्यालयले आफैं सेनेटरी प्याडको व्यवस्थापन गर्दै आएकोमा अघिल्लो वर्षदेखि गाउँ÷नगर र वडा कार्यालयहरूले अधिकांश विद्यालयमा सहयोग गर्दै आएका छन् ।
जनज्योति माध्यामिक विद्यालय बड्डीचौरले आफ्नै खर्चमा सेनेटरी प्याड व्यवस्थापन गर्ने गरेको छ । विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलले चार वर्षदेखि छात्राहरूलाई प्याड वितरण गरिएको बताए । महिला शिक्षिकालाई जिम्मेवारी दिएर छात्राहरूलाई आवश्यक परेको समयमा प्याड उपलब्ध गराउने गरिएको उनले बताए ।
स्वास्थ्यकर्मी तथा स्वच्छ महिनावारी अभियान्ता सीता शर्माले सेनेटरी प्याड राखिएका विद्यालयमा छात्राहरूलाई सहज हुने गरेको बताइन् । विद्यालयमा सेनेटरी प्याडको व्यवस्थापनले छात्राहरूमा महिनावारी स्वच्छतासम्बन्धी चेतना पनि बढेको उनको भनाइ छ ।
प्रकाशित मितिः ६ चैत्र २०७६, बिहीबार ०८:४७
साझा बिसौनी ।