विशेष अदालतमा मुद्दा

भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल र सोही नगरपालिकाका प्राविधिक चित्रबहादुर केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत र प्राविधिकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

घुस लिएको आरोपमा पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृत पौडेल र प्राविधिक केसीविरुद्ध बुधवार अख्तियारले मुद्दा दायर गरेको छ । ‘भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले बिगो २ लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

भेरीगंगा नगरपालिकाको कार्यालय प्रमुख पौडेलको आदेश, योजना र निर्देशनमा खानेपानी तथा सरसफाइ टेक्निसियन केसीले उक्त नगरपालिका– ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्नपश्चात भुक्तानी दिलाई दिने भन्दै घुस मागेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर भएको हो । अख्तियारले खानेपानी तथा सरसफाइ प्राविधिक केसीलाई फागुन ८ गते दुई लाख रुपैयाँ घुस रकमसहित भेरीगंगा–१० को मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरेको थियो ।

प्रकाशित मितिः   ६ चैत्र २०७६, बिहीबार ०८:४४