एसईईमा ३७ हजार परीक्षार्थी

भोलि (बिहीवार)बाट सञ्चालन हुने यस वर्षको प्रवेशिका परीक्षा (एसईई) मा कर्णाली प्रदेशबाट ३७ हजार २३ परीक्षार्थी सहभागी हुने भएका छन् । कर्णाली प्रदेश शिक्षा निर्देशनालयले एसईईको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्देशनालयका निमित्त निर्देशक दीपा हमालका अनुसार रूकुुमपश्चिमबाट तीन हजार १४ जना, सल्यानबाट चार हजार नौ सय, जाजरकोटबाट चार हजार दुई सय ११, कालिकोटबाट तीन हजार नौ सय ४०, जुम्लाबाट दुुई हजार पाँच सय ७३ परीक्षार्थी यस पटकको परीक्षामा सहभागी हुँदै छन् । त्यस्तै, हुम्लाबाट एक हजार ३७, मुगुबाट एक हजार चार सय ४३, डोल्पाबाट सात सय २०, दैलेखबाट पाँच हजार पाँच सय ७२ र सुर्खेतबाट आठ हजार सात सय ११ परीक्षार्थी सहभागी हुने हमालले जानकारी दिइन् ।

प्रदेशमा एसईईका लागि एक सय ७६ परीक्षा केन्द्र तोकिएका छन् । सुर्खेतमा ३२, दैलेखमा २४, जाजरकोटमा २१, सल्यानमा २३, रुकुमपश्चिममा २३, हुम्लामा ६, जुम्लामा १६, कालिकोटमा २०, मुगुमा ७ र डोल्पामा ४ वटा केन्द्र तोकिएको हो । सबै ठाउँमा प्रश्न–पत्र, उत्तरपुस्तिका पठाइसकिएको निर्देशनालयले जनाएको छ । परीक्षा शान्त र मर्यादित गराउन केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण गरिएको छ । केन्द्रमा कोरोना भाइरस संक्रमणको जोखिमलाई लक्षित गर्दै हेल्थ डेक्स राख्ने तयारी पनि गरिएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मितिः   ५ चैत्र २०७६, बुधबार ०५:०१