सुइँको दिँदैनन् घण्टाघरको सुइले

केही वर्ष अघिसम्म घण्टाघरबाट प्रत्येक घण्टा टिङ–टिङ आवाज आउँथ्यो । आसपासका स्थानीय त्यही आवाज सुनेर समयको अड्कल लगाउँथे । कति बज्यो भनेर थाहा पाउन किन पनि सजिलो थियो भने घण्टाघरले जति बजेको हो त्यति नै पटक आवाज दिन्थ्यो । यसले गर्दा स्थानीयलाई समयको सुइँको पाउन सजिलो हुन्थ्यो । त्यही बाटो भएर हिँड्ने बटुवा र घण्टाघर हेर्नकै लागि त्यहाँ पुग्ने पर्यटक पनि घण्टाघरका सुईले दिएको समय हेर्थे । तर, केही वर्षयतादेखि घण्टाघरको आवाज बन्द भएको छ । सुई रोकिएका छन् ।

घण्टाघर समयको जानकारी दिने स्थान मात्रै होइन यो वीरेन्द्रनगरको पर्यटकीय गन्तव्य पनि हो । तर संरक्षण र मर्मतको अभावले घण्टाघरको सौन्दर्य एवम् महŒवमा कमी आउन थालेको छ । सर्वसाधारणलाई समय हेर्न सजिलो होस् भन्ने हेतुले वि.सं. २०४५ सालमा चीन सरकारको सहयोगमा बनेको घण्टाघरका घडीका सुई रोकिएको लामो समय भयो । यसको मर्मतका लागि ठोस पहल भने कुनै निकायबाट भएको पाइँदैन ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको पहिचानका रूपमा रहेको घण्टाघरको चार वटै घडी बिग्रिएको अवस्थामा छन् । कुनै पनि घडीले समयको जनाउ दिँदैनन् । मर्मतमा सम्बन्धित निकायले ध्यान नदिँदा मिठो धुनसँगै समयको जनाउँ दिने यी घडी अहिले चल्न छोडेका हुन् । घण्टाघर रहेको स्थानमा पार्क छ । घण्टाघरको माथिबाट वीरेन्द्रनगर उपत्यकाको अधिकांश भू–भाग दृश्यावलोकन गर्न सकिन्छ ।

घण्टाघरको संरक्षण गर्ने जिम्मा वीरेन्द्रनगर नगरपालिकाको भए पनि संरक्षणमा उचित ध्यान नदिँदा यसको अस्तित्व नै संकटमा पर्न थालेको स्थानीयको गुनासो छ । वीरेन्द्रनगर–८ खजुरा निवासी नागरिक अगुवा पिताम्बर ढकालले मर्मत तथा संरक्षणको अभावमा घण्टाघरको महŒव लोप हुने अवस्थामा पुुगेको बताए । ‘कुनै समयमा बाटोमा हिँड्ने बटुवाले घडीको धुन सुनेर कति बज्यो भन्ने थाहा पाउँथे,’ उनले भने ‘यसतर्फ कसैको ध्यान नजादा घण्टाघर जीर्ण अवस्थामा पुगेको छ ।’

अहिले सबैको हातहातमा घडी छन् । समय हेर्न मोबाइल फोनलगायत अन्य साधन पनि छन् । तर घण्टाघरको समय हेर्दाको सम्झना गर्नेहरू पनि उत्तिकै छन् । वीरेन्द्रनगर–१३ लामीडाँडाका छविलाल सार्कीले पनि घण्टाघरबारे ढकालको जस्तै अनुभव सुनाए । निर्माण भएको तीन–चार वर्ष घण्टाघरका घडी राम्रोसँग चलेपनि त्यसयता भने सबै घडी नियमित नचलेको उनले बताए । ‘दिउँसो १२ बजे धुुन सुनिन्थ्यो, अनि मात्र हामीले १२ बज्यो भनेर थाहा पाउँथ्यौं’ उनले विगत सम्झिए ।

घण्टाघरलाई सुर्खेतकै प्रमुख पर्यटकीय स्थलको रूपमा समेत लिइन्छ । सुर्खेत घुम्न आउनेका लागि घण्टाघर पार्क पहिलो गन्तव्य नै हो । वीरेन्द्रनगर नगरपालिकाले घण्टाघरको संरक्षण र पर्यटकीय स्थलको विकास गर्नका लागि व्यवसायी चिन्तामणि शर्मालाई २०६८ सालमा वार्षिक करिब ५० हजार भाडामा सम्झौता गरेर दिएको थियो । घण्टाघरमा राखिएका घडीको मर्मत सम्भार व्यवसायी शर्माले नै गर्ने र यदि नयाँ किनेर राख्नु परे नगरपालिकाले नै राख्नुपर्ने सम्झौतामा छ । शर्माले आफूले जिम्मा लिइसकेपछि घडीहरू पटक–पटक मर्मत गरे पनि लामो समयसम्म नचल्ने समस्या भएको बताए । उनले विगत दुई वर्षदेखि सबै घडी पूर्ण रूपमा बन्द भएको जानकारी दिए । प्राविधिकहरूले नयाँ घडी फेर्नुपर्ने सुझाव दिएको भन्दै उनले यस बारेमा नगरपालिकामा जानकारी गराइसकेको बताए । शर्माले घण्टाघरको चार वटै घडी फेर्न १५ देखि २० लाख रूपैयाँसम्म खर्च लाग्ने समेत जनाए ।

कर्णाली प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा घण्टाघरको पार्क मर्मत र घडीका लागि भनेर ४५ लाख बजेट विनियोजन गरेको थियो । तत्कालीन भूू तथा जलाधार व्यवस्थापन कार्यालयले पार्कको मर्मतका लागि ३० लाख र घडीका लागि भनेर १५ लाख बजेट विनियोजन गरेको थियो । घण्टाघर पार्कको कामको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अन्तिममा आएर काम रोकिएको थियो । वन तथा वातावरण निर्देशनालयका जलाधर व्यवस्थापन अधिकृत शिखर चपाईंले पार्कको मर्मत तथा स्तरोन्नतिका लागि विनियोजन गरेको ३० लाख बजेटमध्ये २८ लाख ५० हजार रूपैयाँ खर्च भएको र घडी खरिदको प्रक्रिया नै सुरु नभएर बजेट फ्रिज गएको बताए । यस वर्ष भने प्रदेश सरकारले घण्टाघरका लागि बजेट विनियोजन गरेको छैन । अहिले नयाँ घडी फेर्नका लागि नगरपालिकाले स्रोत खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मितिः   ५ चैत्र २०७६, बुधबार ०५:०३