योजनाको अनुगमन

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुर्खेतका दुई वटा स्थानीय तहमा आफूले सञ्चालन गरेका योजना तथा कार्यक्रमहरूको अनुगमन गरेको छ । मन्त्री विमला केसी, सचिव राजेन्द्रप्रसाद भारीलगायतको टोलीले भेरीगंगा र गुर्भाकोट नगरपालिकामा मन्त्रालयले चालु आर्थिक वर्षमा सञ्चालन गरेका योजना तथा कार्यक्रमहरूको अवस्था अनुगमन गरेको हो ।

भेरीगंगा नगरपालिकाको काउले टोलमा रहेका दुई वटा सिंचाइ र गुर्भाकोट नगरपालिकाको गुमीमा निर्माण गरिएको एउटा सिँचाइ आयोजनाका साथै दलित अति विपन्न तथा लक्षित वर्ग विशेष एकीकृत नमुना अर्गानिक कृषि प्रवद्र्धन कार्यक्रम अनुगमन गरिएको छ । यस्तै लक्षितवर्ग विशेष कार्यक्रमका लागि भेरीगंगा नगरपालिकाको मैनतडामा अनुगमन गरिएको थियो । मन्त्रालयले सञ्चालन गरेका योजनाहरूको भुक्तानी दिनुअघि मन्त्री आफैले अनुगमन गरेको जनाएको छ ।
मन्त्रीको टोलीले गुर्भाकोट नगरपालिका वडा नं. ७ मेहेलकुनामा रहेको पवित्र जनकल्याण कृषक सहकारी संस्थाले उत्पादन गरेको मूलाको बीउको पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा मन्त्री केसीले कृषकले उत्पादन गरेका सामग्री बजारीकरण, व्यवसायीकरणका लागि प्रदेश सरकारले सहयोग गर्ने बताइन् ।

प्रकाशित मितिः   ४ चैत्र २०७६, मंगलवार ११:२०