उद्यमशील कर्णालीका लागि स्वतन्त्र बजार

                 दिनेश गाैतम

नेपालको ग्रामीण भेगहरूमा धेरै अघिदेखि परम्परागत साप्ताहिक हाटबजार लाग्ने गरेका छन् । उक्त चलन अहिले पनि चल्दै आएको छ । कर्णालीको पनि केही ठाउँमा हाटबजारको प्रचलन कायमै छ । हाटबजारको प्रचलन हटेका ठाउँहरूमा पनि मानिसहरू सडकको किनारमा वा खुल्ला चौरमा बसेर सामान बेचिरहेका हुन्छन् । हाटबजार होस् वा अन्य यस्तो बजार, जहाँ मानिसहरू आफूले उत्पादन गरेको वस्तु बेच्न उपस्थित भइरहेका हुन्छन् भने वस्तुको उत्पादन नगर्ने मानिसहरू खरिद गर्नको लागि त्यस्तो बजारसम्म पुग्ने गर्छन् । बजारमा पुग्छन्, धेरै विकल्पहरूमा मोलमोलाई गर्छन् र क्रेता तथा बिक्रेताको सहमति भएको मूल्यमा वस्तुको कारोबार गर्छन् ।

समाज विकास यसरी नभइसकेको अवस्थमा पैसा भन्ने कुरा प्रचलनमा थिएन, त्यसबेला मानिसहरू वस्तुसँग वस्तु साट्दथे र आफ्नो आवश्यकता पूरा गर्दथे । जस्तैः धानको बदला नून, तेलको बदला बेसार, घट्टमा मकै पिसेर पिठो बनाएवापत केही पाथी मकै आदि । वर्तमान समयसम्म पनि यस्तो आदान–प्रदानको अभ्यास भइ नै रहेको छ तर समाजको विकासक्रम अघि बढ्दै जाँदा पैसाका आविष्कार र प्रयोगले मानिसहरूको बजारमा सहभागिता तथा वस्तुहरूको प्रकार र परिमाण छनौट गर्न पाउने अवसरलाई असीमित रूपमा विस्तार गरेको छ । अहिले मानिसहरू आफूसँग भएका सेवा वा वस्तुहरूको विनिमय पैसामा गर्दछन् र त्यसबाट आफूलाई चाहिएका र मन परेका अनगिन्ती वस्तु तथा सेवाहरू किन्दछन् । अहिले मानिसलाई धानलाई नूनसँग, तेललाई चुकसँग नै साट्नुपर्ने बाध्यता छैन । धान बेचेर आएको पैसाले मानिसहरू अब घर खर्च चलाउन वा आफूले चाहेको कुनै पनि कुरा गर्न वा किन्न पनि सक्छन् ।

त्यसैले त जब हामी कुनै पसलमा सामान किन्न जान्छौं, हामी पनि धन्यवाद भन्छौं भने पसलेले पनि धन्यवाद नै फर्काएको पाउछौं । बजारले हामीलाई हार्दिकता सिकाइरहेको हुन्छ । हामीलाई आफ्नो लागि अरू मानिस पनि महत्वपूर्ण हुन्छ भन्ने कुरा सिकाइरहेको हुन्छ । बजारले हामीलाई छनौटको अवसर दिइरहेको हुन्छ भने बजारले नै हामीलाई जीविकोपार्जनमा मद्दत पु¥याइरहेको हुन्छ ।

प्रख्यात फ्रान्सेली दार्शनिक भोल्तेयरले व्यापारबारे लेखेको एक पत्रमा लेखेका छन्, ‘व्यापार, जसले बेलायतको नागरिक वर्गमा धन ल्याएको छ, यसले उनीहरूलाई स्वतन्त्र हुन मद्दत गरेको छ र फेरि पनि स्वतन्त्रताले बजारको विकास गरेको छ ।’ यस भनाइलाई ध्यानमा राख्ने हो भने समाजको विकासक्रम र मानव सभ्यताको क्रमिक उदयसँगै मानिसहरू सम्मानजनक, सुविधापूर्ण र स्वतन्त्र जीवनयापन गर्न सफल हुनुमा बजार र व्यापारको भूमिका महत्वपूर्ण रहेको छ ।

बजारलाई नियन्त्रण कि नियमन ?

पछिल्लो समय नेपालमा बजारलाई नियन्त्रण गर्ने गरी कानुनी व्यवस्थाहरू गरिएका छन् । बजारलाई संकुचित पार्ने, करको दर उच्च बनाउने तथा बजारका स–सना अङ्गहरूलाई विस्थापन गर्ने प्रयास पनि भइरहेका हुन्छन्  । हाटबजारको प्रचलन हराउन लागिसक्यो, फुटपाथ बजारलाई राज्यले डोजर लगाउन पाएमा गर्व गर्छ । कानुनीरूपमा एउटा बजारलाई स्वतन्त्र तरिकाले सञ्चालन हुनबाट विभिन्न किसिमका बाधा व्यवधानहरू सिर्जना गरिराखिएको छ ।

हो, बजारलाई पनि उपभोक्ताप्रति सचेत र जिम्मेवार बनाउनुपर्छ । क्रेताको अधिकार हनन् नहुने गरी बिक्रेताले अधिकारको उपयोग गर्नुपर्छ तर यो वा त्यो बहानामा बजारलाई स्वतन्त्र हुनबाट रोकिरहँदा हाम्रो समाजको पनि स्वतन्त्रतामा नकारात्मक असर परिरहेको छ भन्ने कुरा बुझ्न जरुरी छ । बजारलाई राज्यले नियन्त्रण गर्ने होइन्, सामान्य नियमन गर्नुपर्छ । उपभोक्तालाई गम्भीर असर पार्ने बजारका प्रवृत्तिहरूलाई रोक्नेबाहेक राज्यले बजारमाथिको नियन्त्रण हटाउनुपर्दछ ।

उद्यमशील समाज बनाउन स्वतन्त्र बजार

पछिल्लो समय उद्यमशीलताको वातावरण बनाउन नेपाल सरकार, कर्णाली प्रदेश सरकार तथा विभिन्न स्थानीय तहले धेरै कोसिस गरिरहेका छन् । स्वरोजगारको स्थिति सिर्जना गर्न लागिपरेका छन् । उद्यमशीलता विकासको लागि राज्यको ठूलो रकम खर्च भइरहेको छ । तर के बुझ्न जरुरी छ भने बजारलाई अधिकतम स्वतन्त्रता प्रदान गर्ने हो भने उद्यमशीलता आफैं फस्टाउँछ । सरकारले होटेलमा गोष्ठी गरेर उद्यमशीलताका प्रबद्र्धनको कार्ययोजना बनाइराख्नु पर्दैन ।

उद्यमीहरूले गरिबी निवारण र आर्थिक वृद्धिमा ठूलो भूमिका खेल्छन् । विशेषतः कर्णाली प्रदेशकोे जस्तो निम्न आयमा आधारित परम्परागत अर्थतन्त्रलाई आधुनिक अर्थतन्त्रतर्फ लैजान चाहिने संरचनात्मक रूपान्तरणका लागि त उद्यमीहरू अपरिहार्य हुन्छन् । उद्यमीहरूले घरपरिवारभन्दा बाहिर नयाँ व्यवसाय स्थापना गरेर, परम्परागत क्षेत्रमा रहेका अतिरिक्त श्रमशक्तिलाई त्यस्ता नयाँ व्यवसायमा समाहित गराएर, उपभोग्य वस्तु उत्पादन गर्नका लागि आवश्यक कच्चापदार्थ उपलब्ध गराएर, बढ्दो उत्पादनमा विशिष्टीकरण ल्याएर र आधुनिक तथा परम्परागत दुवै क्षेत्रमा उत्पादकत्व वृद्धि गरेर अर्थतन्त्र उकास्न मद्दत गरिरहेका हुन्छन् ।

विभिन्न अध्ययनहरूको निष्कर्षअनुसार प्रायः विकासोन्मुख देशमा साना तथा मझौला उद्योगमार्फत् रोजगारीमा हुने वृद्धि महत्वपूर्ण हुन्छ । धेरैजसो विकासोन्मुख देशहरूमा स्वरोजगारीबाट हुने कमाइ औपचारिक क्षेत्रको भन्दा बढी हुन्छ । चीनमा साना तर निजी उद्यमीहरूको सङ्ख्यामा भएको तीव्र वृद्धिले उच्च आर्थिक वृद्धिदर र गरिबी न्यूनीकरणमा ठूलो योगदान पु¥याइरहेको छ । त्यसैगरी, विकासोन्मुख देशका कृषि क्षेत्रमा साना उद्यमीहरूले नयाँ प्रविधिको आविष्कार तथा त्यस प्रविधिको अनुशरण दु्रत गतिमा गर्ने गरेको तथ्य पनि विचारणीय छ । विकासोन्मुख देशका प्रायः जसो साना तथा मझौला उद्योगमा महिलाको स्वामित्व हुने भएकाले उद्यमशीलताको प्रबद्र्धनले महिला सशक्तीकरणमा पनि ठूलो भूमिका खेलेको पाइन्छ ।

अति कम विकसित क्षेत्रमा बजारको महत्व

सामान्यतः भौतिक संरचनाहरूको विकास भनेको बजारद्वारा गरिएको सम्पत्ति सङ्कलनले दिएको नतिजा हो । बजार रहनका लागि चाहिने अवस्था र कानुनी संयन्त्रको असफलता नै बजार अल्पविकसित हुनुको कारण हो तर त्यो असफलता कानुनी संयन्त्रको सुधारका लागि बलियो कारण पनि हो, किनकि यसले बजारको विकासका लागि आधार दिँदै कानुनी सुधार र बजार विकासलाई पछाडि धकेल्न सक्दैन । विकसित देशहरूमाझैं कर्णाली प्रदेशमा पनि धन आर्जन गर्ने वातावरण सिर्जना गर्नको लागि स्वतन्त्र बजार सम्बन्धमा आवश्यक कानुनी र संस्थागत आधारहरूको सिर्जना गर्नु नै एकमात्र बाटो हो । किनकि यस्तो अवस्थामा मात्र उद्यमी, उपभोक्ता, लगानीकर्ता र कामदारहरू सबैले सम्पत्ति सिर्जनामा स्वतन्त्र रूपमा सहकार्य गर्न सक्दछन् ।

अहिलेका सबै समृद्ध देशहरू कुनैबेला साह्रै गरिब थिए । तीमध्ये केही सम्झना ताजा नै छन् । यहाँ गरिबीको बयान गर्न जरुरी छैन, किनकि यो त मानव जातिको प्राकृितक स्वरूप हो । यहाँ बयान त सम्पत्तिको गर्नु जरुरी छ । सम्पत्ति सिर्जना गर्नुपर्छ र त्यो सुनिश्चित गर्ने उत्कृष्ट तरिका भनेको मानिसलाई त्यसो गर्नका लागि सम्भाव्य लाभहरू सिर्जना गरेर देखाउन सक्नु हो । वैधानिक रूपले सुरक्षित निजी सम्पत्तिको अधिकार र कानुनी व्यवस्थाहरूमा आधारित भएर लेनदेन सहज गर्ने खुला बजारभन्दा सम्पत्ति सिर्जना गर्नको लागि अर्काे कुनै उक्तम व्यवस्था छैन ।

गरिबीबाट बाहिर आउने एउटै मात्र बाटो भनेको खुला बजारका माध्यमबाट सम्पत्ति सिर्जना गर्नु नै हो । विश्वमा “विकासशील राष्ट्र” भन्ने नाम बारम्बार गलत रूपमा प्रयोग गरिएको पाइन्छ । यो ती राष्ट्रहरूमा प्रयोग गरिन्छ जसले सरकारको केन्द्रीय योजना, राष्ट्रको स्वामित्व, वाणिज्यवाद, संरक्षणवाद र विशेष सुविधाको हितका लागि बजारलाई अस्वीकार गरेका छन् । वास्तवमा त्यस्ता राष्ट्रहरू विकासशील होइनन् । तुलनात्मक रूपमा धनी या दरिद्रताबाट शुरुवात गरेका भए पनि ती राष्ट्रहरू विकासशील हुन् जसले सम्पत्ति र करारका कानूनी व्यवस्थाहरू सिर्जना गरेका छन्, बजार खुल्ला गरेका छन् र सरकारी शक्ति, बजेट र पहँुचलाई न्यून गरेका छन् ।

कर्णाली प्रदेशका सबै स्थानीय तह तथा प्रदेश सरकारले पनि आफ्नो विद्यमान आर्थिक अवस्थाको समीक्षा गर्दै पालिकाहरूलाई सम्मुनतिको बाटोमा लैजान बजारको सम्बन्धमा रहेको धारणाहरू परिवर्तन गर्न जरुरी छ । त्यति मात्र होइन्, नेपालकै सबैभन्दा गरिब प्रदेशको पहिचान बनाएको कर्णाली प्रदेशको आर्थिक विकासको लागि स्वतन्त्र बजार महत्वपूर्ण हुने निश्चित प्रायः नै छ ।

बजारमा जीत र हार हुँदैन

बजारको प्रक्रिया भनेको दौड प्रतियोगिता होइन जहाँ जीत र हार हुन्छ । दुवै पक्षहरू आफूलाई फाइदा हुन लागेपछि मात्र वस्तु तथा सेवाको विनिमय गर्दछन् । यसमा दौड प्रतियोगितामा जस्तो एउटाले जितेपछि अर्को हार्नै पर्छ भन्ने छैन । यसमा दुवै पक्षले फाइदा पाउँदछन् । त्यसैले एक पक्षले मात्र फाइदा पाउने अवस्थामा वस्तुको विनिमय हुन सक्दैन । बजारले बजारमा संलग्न सबै पक्षलाई ‘वीनवीन’ अवस्थाको सिर्जना गर्दछ । क्रेताले आफूले खोजेको वस्तु पाउँछ, बिक्रेताले पैसा पाउँछ, राज्यले कर पाउँछ, समाजले उद्यमशील मानिसहरू पाउँछ । बजारले सबैलाई कुनै न कुनै रूपबाट फाइदा गर्दछ ।

स्वतन्त्र बजार भएका खण्डमा सबैभन्दा फाइदा पाउने वर्ग भनेको मध्यम र निम्न मध्यम वर्गमा पर्ने मानिसहरू नै हुन् । कर्णाली प्रदेशको अधिकांश वासिन्दाहरू मध्यम र निम्न वर्गका छन् । स्वतन्त्र बजार भएको व्यवस्थामा कुनै पनि व्यक्ति जन्मँदैमा सम्भ्रान्त वर्गमा पर्दैन । यस किसिमको बजार संरचनामा वाणिज्यवाद र नातावादमा भएको व्यवस्था जस्तो धनी झन् धनी र गरिब झन् गरिब हुँदै जाँदैनन् ।

स्वतन्त्र बजार व्यवस्था भएको व्यवस्थामा धनी मानिस राम्रो गर्दै जान्छन् भने गरिब मानिस झन् राम्रो हुँदै मध्यम र उच्च मध्यम वर्गमा पुग्दछन् । जब स्वतन्त्र बजार भएको देशमा आय वितरणको अध्ययन गरिन्छ, मानिसहरूको आयमा गतिशीलता पाउन सकिन्छ । यसमा सबैभन्दा महत्वपूर्ण कुरा के छ भने समृद्घ बजार अर्थतन्त्र भएका ठाउँमा सबै मानिसहरूको आय उच्च हुँदै गएको हुन्छ । त्यसैले कर्णाली प्रदेशका नीति निर्माताहरूले बजारलाई कसरी अधिकतम स्वतन्त्र बनाउन सकिन्छ र उद्यमशील कर्णाली प्रदेशको निर्माण गर्न सकिन्छ भनेर सोच्ने कि ?

प्रकाशित मितिः   ४ चैत्र २०७६, मंगलवार ११:१७