विद्युत लाइन जमिन मुनिबाट

वीरेन्द्रनगरलाई ताररहित नगरपालिका बनाइने भएको छ । सडक छेउका अनावश्यक बिजुलीका तारले नगरको सौन्दर्य कुरूप देखिएको भन्दै वीरेन्द्रनगर नगरपालिकाले ताररहित नगरपालिका बनाउने भएको हो । आगामी असार महिनासम्म ताररहित बनाएर सुन्दर नगरीको रूपमा विकास गर्ने नगरपालिकाले जनाएको छ । अब बिजुलीको लाइन जमिनमुनी राखिनेछ ।

‘अस्तव्यस्त तारले दुर्घटनाको जोखिमसँगै सहरलाई कुरूप बनाएको छ,’ नगर उप–प्रमुख मोहनमाया ढकालले भनिन्, ‘विद्युतका खम्बा हटाएर तारलाई जमिनमुनी विछ्याउने योजना बनाइएको छ ।’ पहिलो चरणमा मुख्य बजार (मंगलगढीचोकदेखि गणेशचोकसम्म) को सडक छेउका विद्युत पोल हटाएर तारलाई जमिनमुनी विछ्याइनेछ । बिजुलीको खम्बा र तारले गर्दा बजार क्षेत्रको सडक साँघुरो हुने भएकाले दुर्घटनाको जोखिम बढ्ने गरेको भन्दै यसलाई व्यवस्थित गर्न लागिएको
उप–प्रमुख ढकालले बताइन् ।

वीरेन्द्रनगरको चालु आर्थिक वर्षको नगरसभाले यो योजनालाई नगरको महŒवको योजनाका रूपमा राखेको छ । सुरुमा मुख्य बजार क्षेत्रबाट योजना कार्यान्वयन गर्न लागिएको नगरपालिकाले जनाएको छ । दुर्घटना कम गर्न तथा बजार क्षेत्रको सडकलाई विस्तार गर्न यो बाहेक अरू विकल्प नभएको उप–प्रमुख ढकालको भनाइ छ ।

नगरपालिकाले यो योजना राष्ट्रिय योजना आयोगमार्फत माग गरेको हो । यसलाई आयोगले स्वीकृती दिएपछि संघीय सरकारले दिएको समपूरक अनुदानको ४० प्रतिशत बजेट खर्च गर्ने गरी अगाडि बढाइएको हो । बाँकी ६० प्रतिशत खर्च भने नगरपालिका आफैँले बेहोर्नेछ । ‘पाइलट प्रोजेक्ट’का रूपमा हेरिएको यो योजना कार्यान्वयनका लागि चार करोड रूपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ । उनका अनुसार यसको ठेक्का नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा तत्कालै आह्वान गरिनेछ । मुख्य बजार क्षेत्रको व्यवस्थापनपछि क्रमशः नगरका अरू क्षेत्रमा पनि योजना अगाडि बढाइनेछ ।

प्रकाशित मितिः   ४ चैत्र २०७६, मंगलवार ११:०६