नाका खुले पनि सहज भएन ग्यास, उपभोक्ताले स्टक राख्दा हाहाकार

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ चैत । 
पहिलाको तुलनामा दोब्बर सिलिण्डर भित्रिँदा समेत सुर्खेतमा खाना पकाउने ग्यासको चरम अभाव भएको छ । भारतीय नाकाबन्दीको बेलामा समेत ग्यास पाएका यहाँका उपभोक्ताहरूले हिजो आज निकै सास्ती भोगिरहेका छन् । नाकाबन्दी खुलेर आपूर्ति सहज हुँदा समेत उपभोक्ताले घरमा आवश्यकता भन्दा बढी स्टक राख्न थालेपछि जिल्लामा खाना पकाउने ग्यासको हाहाकार भएको हो ।
हरेक हप्ता जिल्लामा ग्यास भित्रिएको भए पनि उपभोक्ताले घरमै स्टक राख्न थालेपछि चरम अभाव देखिएको छ । अधिकांश उपभोक्ताले अहिले जिल्लामा भित्रिने सबै कम्पनीको ग्यास राखेका छन् । जसको सबैभन्दा बढी मारमा भाडामा बस्दै आएका परिवार र विद्यार्थीहरू परेका छन् । हिजोआज सर्वसाधारणहरू ग्यासको खोजीमा दिनहुँ धाउन थालेका छन् भने घण्टौंसम्म लाइनमा बस्न बाध्य छन् । तर पनि उनीहरूले सहज रूपमा ग्यास पाउन सकेका 
छैनन् । पहिलाको तुलनामा दोब्बर सिलिण्डर जिल्लामा भित्रिँदा समेत ग्यासको माग पूरा गर्न नसकेपछि बिक्रेताहरू समेत हैरान भएका छन् । एउटै उपभोक्ताले घरमा आवश्यकता भन्दा बढी सिलिण्डर स्टक राखेका कारण बजारमा ग्यासको हाहाकार भएको बिक्रेताले बताएका छन् ।
सुर्खेतमा अहिले भेरी, मनकामना, राप्ती र रेडियण्ट कम्पनीको ग्यास भित्रिने गरेको छ । नाकाबन्दी भन्दा पहिलाको तुलनामा यी कम्पनीले अहिले जिल्लामा दोब्बर सिलिण्डर भिœयाएका छन् । दोब्बर सिलिण्डर भित्रिँदा समेत ग्यासको अभाव कायमै छ । यसअघि राप्ती ग्यास महिनामा दुई हजार पाँच सय सिलिण्डर भित्रिँदा पनि उपभोक्तालाई पुगेर गोदाम पनि खाली हुन्थेन । तर, अहिले महिनामा तीन हजार सिलिण्डर ल्याउँदा समेत हाहाकार भइरहेको राप्ती ग्यासका बिक्रेता चन्द्रनारायण साहले बताए । उनले भने, ‘हरेक हप्ता ग्यास आइरहेको छ, तर पनि उपभोक्ताहरू घण्टौंसम्म लाइनमा बसेर रित्तै फर्कन बाध्य छन् । एउटै उपभोक्ताले घरमा धेरै सिलिण्डर राख्दा यो समस्या आयो, कसैले स्टक राखेका छन् भने कसैले पाउनै सकेका छैनन् ।’ उपभोक्ताले स्टक राख्दासम्म जिल्लामा ग्यास सहज हुन नसक्ने उनको भनाइ छ । उनले थपे, ‘पहिलाको भन्दा हामीले दोब्बर सिलिण्डर भिœयाएका छौं, तै पनि बजारमा हाहाकार छ । आखिर कहाँ गए त ती सिलिण्डर ?’ अधिकांश उपभोक्ताले घरमा घेरै सिलिण्डर स्कट राखेको र एउटा सकिने बित्तिकै लाइनमा आउने गरेकाले पनि अभाव सिर्जना भएको हो ।
पछिल्लो समय केही होटल व्यवसायी, सेना, प्रहरी र पहुँचवालाले बिक्रेताबाट सोझै ग्यास लैजाने गरेका छन् । उनीहरूले समेत आवश्यकता भन्दा बढी स्टक राखेका कारण अहिले बजारमा सर्वसाधारणले अभाव भोग्नु परेको हो । उपभोक्ताका घरमा स्टक रहेका सिलिण्डरहरू बजारमा नआउँदासम्म ग्यासको हाहाकार कायमै रहने बिक्रेताहरूको भनाइ छ । सुर्खेतमा भेरी ग्यासका बिक्रेता मनोज दाहालका अनुसार हरेक हप्ता जिल्लामा ग्यास भित्रिएको भए पनि आधा भन्दा बढी माग पूरा गर्न सकिएको छैन । उनले भने, ‘ग्यास आइरहेको छ, मान्छेहरू लाइन लागेकै छन् । हामीले माग पूरा गर्न सकेका छैनौं, एउटैले धेरै सिलिण्डर राखेका कारण समस्या भएको हो ।’ पछिल्लो समय भेरी ग्यासको मासिक १२ हजार सिलिण्डर माग भएको भन्दै उनले यसअघिको तुलनामा यो दोब्बर भएको बताए । नाकाबन्दी हुनुभन्दा अघिको तुलनामा सुर्खेतमा अहिले रेडियण्ट ग्यासका दोब्बर बढी सिलिण्डर बजारमा गएका छन् । रेडियण्टका बिक्रेता जय खड्का भन्छन्, ‘मानिसहरूमा अहिले पनि त्रास देखियो, घरमा आवश्यकता भन्दा बढी सिलिण्डर स्टक राख्न थाले । यसले पनि बजारमा ग्यासको अभाव उत्पन्न भयो ।’ साथै उनले माग अनुसार जिल्लामा ग्यासको आपूर्ति हुन नसकेको बताए ।
सुर्खेत उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका मनकामना ग्यासका बिक्रेता धनबहादुर रावतले भने उद्योगबाटै कम ग्यास आएको बताए । माग अनुसारको ग्यास नआउँदा जिल्लामा हाहाकार भएको उनको भनाइ छ । उनले भने, ‘उद्योगबाटै कम मात्र ग्यास आएको छ, यसतर्फ स्थानीय प्रशासनले पनि ध्यान दिनुप¥यो । 
उपभोक्ताको माग पूरा गर्न नसकेर हामी हैरान भइसक्यौ, अब प्रशासनले पनि समन्वय गर्न जरुरी छ ।’ यसअघि वितरण भएका आधा सिलिण्डरका कारण पनि बजारमा माग बढी भएको हुनसक्ने उनको भनाइ छ । अहिले एउटै उपभोक्ताले धेरै सिलिण्डर स्टक राखेपछि बिक्रेताहरूले भने ति सिलिण्डरहरू बजारमा आएपछि धरौटी फिर्ता गर्न समस्या हुने भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।
प्रकाशित मितिः   १५ चैत्र २०७२, सोमबार ०४:२०