बालिका बलात्कारीलाई २० वर्ष कैद

सुर्खेत, १५ चैत । 
बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका एक युवकलाई २० वर्ष कैद सजाय सुनाइएको छ । जिल्ला अदालत सुर्खेतले जिल्लाको भेरीगंगा– ९ का २९ वर्षिय वीरबहादुर टमटालाई २० वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो ।
जिल्ला अदालतका न्यायाधीश कैलाशप्रसाद सुवेदीको एकल इजलासले टमटालाई एक लाख रुपैयाँ जरिवानासहित उक्त कैद सजायको फैसला सुनाएको हो । बालिका बलात्कारको आरोपमा उनी पक्राउ परेका थिए । टमटाले गत साउन १ गतेका दिन मदिरा सेवन गरी छिन्चुमा दुई बालिकामाथि बलात्कार गरेका थिए ।
प्रहरीका अनुसार कैद सजाय सुनाइएका टमटाले स्थानीय ६ र ७ वर्षका दुई बालिकालाई बलात्कार गरेका थिए । सोही आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा राखेको थियो । आफन्तको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले गत साउन २४ गते टमटालाई पक्राउ गरी अदालत पेश गरेको थियो । उनलाई आइतवार जरिवानासहितको कैद सजायको फैसला गरिएको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार वीरेन्द्रबहादुर मल्लले जानकारी दिए । अदालतबाट कैद सजायको फैसला सुनाइएका टमटालाई यसअघि नै पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।