शैक्षिक सामग्री सहयोग

वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगरले स्थापना दिवसमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । सहकारीले आइतवार १७औं स्थापना दिवसको अवसरमा सुर्खेतको राकमस्थित बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत २१ जना अपाङ्गता भएका विद्यार्थीहरूलाई सहयोग गरेको हो ।

संस्थाका प्रबन्धक श्यामलाल न्यौपानेले विद्यार्थीहरूलाई पोशाक तथा स्टेशनरीलगायत शैक्षिक सामग्री प्रदान गरेको जानकारी दिए । संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यले विद्यार्थीहरूलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री उपलब्ध गराएको बताए । उनले समुदायप्रतिको दायित्वलाई पूरा गर्न सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पनि संस्था क्रियाशील रहेको जानकारी दिए । संस्थाले आर्थिक पक्ष मात्र नहेरेर सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको आचार्यको भनाइ छ ।

कार्यक्रममा सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले वातावरणले राज्यको पहुँच नपुगेका दुर्गम क्षेत्रहरूमा आर्थिक लगायतका सामाजिक कार्यहरू गरेर आफ्नो जिम्मेवारी निर्वाह गरेको बताए । उनले संस्थाले आर्थिक, सामाजिक क्षेत्रमा अब्बल काम गरेको भन्दै प्रशंसा गरे । शैक्षिक सामग्री वितरण कार्यक्रममा बागेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कौशिल्यादेवी सिंह, स्थानीय समाजसेवी पृथ्वीबहादुर सापकोटा, पुष्पा उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ३ चैत्र २०७६, सोमबार ०८:५०