प्रदेशको शिक्षा योजना बनाइने

कर्णाली प्रदेशको शिक्षा विकास योजना बनाइएको भएको छ । सरकारले समग्र शिक्षाको योजना निर्माण गर्ने तयारी थालेको हो । शिक्षा योजनाको मस्यौदा तयार गर्न लागिएको छ । यसका लागि शिक्षा निर्देशनालयका निमित्त निर्देशक दीपा हमालको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलले अबको एक महिनाभित्र शिक्षा योजना निर्माणको मस्यौदा तयार गर्नेछ ।

सामाजिक विकास मन्त्रालयका उप–सचिव विष्णुप्रसाद अधिकारीले शिक्षा योजनाको खाका तयार गर्न कार्यदल बनाएर काम अघि बढाएको बताए । उनले प्रदेशको पञ्चवर्षीय शिक्षा योजनामा यहाँको शिक्षाको गुणस्तर हुने, विद्यालयहरूको व्यवस्थापन, शिक्षामा कस्तो जनशक्ति आवश्यक पर्ने, विश्वविद्यालयको स्थापनालगायतका विषयहरू समेटिने जानकारी दिए । ‘योजनाको खाका गराउन कार्यदल बनेको छ,’ उनले भने, ‘यही महिना कार्यदलले खाका बनाएर दिएपछि अन्य सरोकारवालाहरूसँग छलफलमा लगिनेछ ।’ उनले प्रदेशको शिक्षा नीति र पर्वतीय विश्वविद्यालय ऐनको निर्माण अन्तिम चरणमा रहेको पनि जानकारी दिए ।

प्रदेश सरकारले कर्णालीको शिक्षा नीति र पर्वतीय विद्यालय ऐन पनि बनाउँदै छ । यसैमा आधारित भएर प्रदेशको शिक्षा योजना बनाइने उप–सचिव अधिकारीले बताए । शिक्षा निर्देशनालयका निमित्त निर्देशक एवम् कार्यदलका संयोजक हमालले सबैको सुझाव लिएर प्रदेशको पञ्चवर्षीय शिक्षा योजना निर्माण गर्न लागिएको जानकारी दिइन् । उनले प्रदेशको शिक्षा योजना कस्तो हुने बृहत् छलफल गरिने बताइन् । मस्यौदा कार्यदलमा स्थानीय तह र विषय विज्ञहरूलाई सहभागी गराइएको छ ।

प्रकाशित मितिः   ३ चैत्र २०७६, सोमबार ०८:४१