सडकका चौपाया जिल्ला बाहिर पठाइने

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले सडकमा रहेका छाडा चौपायालाई जिल्ला बाहिर पठाउने तयारी गरेको छ । सडकमा रहेका छाडा चौपाया मध्ये एकसय चौपायालाई हुम्ला जिल्ला पठाउने तयारी नगरापालिकाको गरेको हो ।

हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेको प्रगतिशिल पशुपालन व्यवसायिक फर्ममा उक्त छाडा चौपाया पठाउने गरी सम्झौता भएको हो । गाउँपालिकाले फर्मलाई छाडा पशु उपलब्ध गराउन पत्राचार गरेपछि वीरेन्द्रनगर नगरपालिकाले शनिबार सम्झौता गरी चौपाया उपलब्ध गराउने तयारी गरेको हो । वीरेन्द्रनगर नगरपालिकाबाट करिब ३५ दिन लगाएर चौपाया हुम्ला पु¥याइने वीरेन्द्रनगर नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत प्रकाश पौडेलले जानकारी दिए । पौडेलले चौपाया हुम्ला पु¥याउनका लागि बाटो खर्च समेत वीरेन्द्रनगर नगरपालिकाले दिने बताए । ‘छाडा चौपायका कारण सडक दुर्घटना बढेका छन्’ उनले भने ‘हुम्लाका किसानले पशुपालन प्रयोजनका लागि गाउँपालिकाबाटै पत्र आएपछि हामीहरूले सडकबाट नियन्त्रणमा लिएर एकसय चौपाया पठाउने तयारी गरेका हौं ।’

उनले पशु ढुुवानी मापदण्ड अनुसार नै सो काम गर्न लागिएको बताए । ‘अझैपनि वीरेन्द्रनगरका सडकमा छाडा चौपायाको बिगबिगी घटेको छैन । पौडेलले थपे ‘कृषकका घर–घरमा गई पशुको जन्मदर्ता र कानमा ट्याग लगाउने काम समेत अगाडि बढाएका छौं ।’ सडकका छाडा चौपायाको कारण सडक दुर्घटना बढेको भन्दै बारम्बार नागरिक र सवारी चालकहरूको गुनासो आउने गरेको उनले बताए । यसअघि जिल्ला बाहिर पशुपालन प्रयोजनका लागि चौपाया पठाउने गरेको भएपनि गत भदौ महिनामा सुर्खेतमा भएको ‘गौहत्या काण्ड’का कारण अहिले रोकिएको छ । सडकबाट नियन्त्रणमा लिएर काञ्जीहाउसमा चौपाया राखिएको र ट्याग लगाउने काम सकियलगत्तै हुम्ला पठाईने उनले बताए ।

प्रकाशित मितिः   २ चैत्र २०७६, आईतवार १३:३७