लिफ्टिङमार्फत गाउँमा खानेपानी
उदयराज अधिकारी,
दैलेख : जिल्लाको भैरवी गाउँपालिका–१ कुडामुलका ४५ घरधुरीलाई लिफ्टिङ प्रविधि मार्फत खानेपानी वितरण गरिएको छ । घरआगनमै पानीका धारा बनेपछि यहाँका नागरिकले वर्षौदेखि भोग्दै आएको खानेपानी अभावको समस्या समाधान भएको छ ।
ग्रामीण जलस्रोत परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सोलार लिफ्टिङ प्रविधि मार्फत मुहानबाट दुई सय तीन मिटर माथिको दुरीमा पानी लिएर पाँच वटा सार्वजनिक धारा निर्माण गरिएको छ । भैरवी गाउँपालिका–१ की हरिसरा सुनारले बस्ती माथि र मुहान तल भएका कारण लामो समयदेखि झेल्दै आएको खानेपानीको समस्या समाधान भएको बताईन् । उनका अनुसार विगतमा दैनिक दुई जनाले खानेपानी ओसार्नुपथ्र्यो । त्यति गर्दा पनि अपुग हुन्थ्यो । गाईबस्तुलाई समेत टाढाबाट पानी बोकेर खुवाउनुपर्ने बाध्यता थियो । अहिले आगनमा स्वच्छ पानी आउँदा सुखका दिन आएको हरिसराले बताईन ।
दैनिक पानी बोक्नु पर्ने भएका कारण समुदायका बालबालिकाको पढाई समेत प्रभावित हुने गरेको थियो । विद्यालय जाने बालबालिकाले ताजा खाना खाएर जान नपाउने र बासी खाना तताएर खानु पर्ने अवस्थाको पनि अन्त्य भएको उनले जानकारी दिईन् । उनका अनुसार अधिकांश अभिावकले विहान बालबालिकालाई नै पानी बोक्नका लागि प्रयोग गर्दा उनीहरूको पढाई प्रभावित हुने गरेको थियो । पानीको समस्या समाधान भएपछि बालबालिका नियमित विद्यालय जान थालेका छन् ।
सोही ठाउँका कृपाराम ओलीले विगतमा अभाव हुँदा जस्तोसुकै पानी पनि प्रयोग गर्नुपर्ने बाध्यता भएपनि अब भने स्वच्छ पानी पीउन पाएको बताए । पहिले कुवाको टाढाबाट कुवाको पानी ल्याउनुपथ्र्यो । गाउँभरीका लागि एउटै कुवा हुँदा घण्टौ लाइन बस्नुपथ्र्यो । ‘अहिले घर नजिकै धारा आएपछि स्वच्छ खानेपानी पीउने सपना पुरा भएको छ’ उनले भने । पानी ल्याउन जाँदा लाग्ने समयको समेत सदुपयोगसँगै प्रत्येक घरले करेसाबारीमा तरकारी खेती गरेको बताउँदै ओलीले हरियो तरकारी समेत खान पाएको जानकारी दिए ।
जडामूल खानेपानी योजनाका प्राविधिक जङ्ग रावलले एक दिनमा आठ हजार लिटर पानी सोलार लिफ्टिङ प्रविधि मार्फत ट्याङ्कीमा जम्मा हुने गरेको बताए । डाँडामा ५० घरधुरीको बस्ती छ । उक्त बस्तीका सबैलाई सहज रूपमा खाने पानी पु¥याउनका लागि अनुदान र श्रमदान गरी ५० लाखको लागतमा पाँच वटा धारा निर्माण गरिएको हो । उनले त्यही खानेपानी योजनाबाट विद्यालय र स्वास्थ्य चौकीमा पनि धारा जोडेपछि सरसफाइमा पनि सुधार भएको छ । भैरवी गाउँपालिका–१ का वडा अध्यक्ष काशीराम कार्कीले वडामा पर्याप्त बजेट नभएका कारण खानेपानी योजना निर्माण गर्न नसकेको बताउँदै परियोजनाको सहयोगमा निर्माण भएपछि स्थानीयलाई राहत भएको जनाए ।
प्रकाशित मितिः २ चैत्र २०७६, आईतवार १३:३३
साझा बिसौनी ।