कर्णालीका सबै नागरिकको बिमा

सुर्खेत : कर्णाली प्रदेश सरकारले सुरु गरेको प्राकृतिक विपद् दुर्घटना बिमा कार्यक्रम लागू भएको छ । सरकारले कर्णालीका सबै नागरिकको लागि गरेको सामूहिक बिमा कार्यक्रम शनिवारदेखि लागू गरिएको हो ।

अब कुनै प्राकृतिक विपद्मा परेर ज्यान गुमाएका नागरिकका परिवारले बिमावापत दुई लाख रूपैयाँ प्राप्त गर्नेछन् । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काका अनुसार कर्णालीका साढे सत्र लाख नागरिक र कर्णालीमा कार्यरत सबै कर्मचारीको सुरक्षाको लागि सरकारले सामूहिक बिमा कार्यक्रम लागू गरेको हो । राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग बिहीवार पुनः नयाँ सम्झौता भएपछि कार्यक्रम शनिबारदेखि लागू भएको उनले बताए ।

‘प्रति वर्ष प्रति व्यक्ति आठ सय रूपैयाँ ४८ पैसा लगानी गर्ने गरी कार्यक्रम लागू हुन लागेको हो’ उनले भने ‘प्रदेशका नागरिक र प्रदेशमा सेवा गर्न आएका कर्मचारीको सुरक्षाका लागि सरकारले बिमा कार्यक्रम लागू गरेको हो ।’ गत असोज १ गते भएको सम्झौतामा प्रतिव्यक्ति सात सय रूपैयाँ तिरेर एक लाखको बिमाको लागि सम्झौता भएको भन्दै प्रवक्ता खड्काले एक सय रूपैयाँ बढाएर नागरिकको सामाजिक सुरक्षा बढ्ने देखेपछि पुनः नयाँ सम्झौता गरेको जनाए । बिमा कार्यक्रम लागू भएपछि कर्णाली प्रदेशमा कुनै पनि प्राकृतिक दुर्घटना भएको खण्डमा कर्णाली प्रदेशका नागरिक र कार्यरत कर्मचारीहरूका आश्रित परिवारले राहत रकम प्राप्त गर्नेछन् । तर घाइते र अङ्गभङ्ग भएको अवस्थामा भने बिमा कम्पनीले समेट्न नसक्ने जनाइएको छ । मृतकका परिवारले मात्र रकम प्राप्त गर्न सक्नेछन् ।

यसअघि गत असोज १ गते राहत रकम एक लाख रूपैयाँ भुक्तानी गर्नेगरी बिमा कम्पनीसँग सम्झौता गरेको थियो । रकम बढाउन र कर्मचारीलाई समेट्नका पुनः नयाँ सम्झौता गरी कार्यक्रम लागू गरिएको हो । उनका अनुसार बिमा कार्यक्रमका लागि सरकारले एक करोड ५० लाख नौ सय ६ रूपैयाँ खर्च गरेको छ । योसँगै कर्णाली प्रदेशभित्र विपद्को उच्च जोखिममा रहेका घरहरूको समेत घरबिमा कार्यक्रम सरकारले ल्याउने तयारी गरेको प्रवक्ता खड्काले बताए । कर्णाली प्रदेशका उच्च जोखिममा रहेका करिब १० हजार घरपरिवारलाई समेटेर घर बिमा गरिने उनले बताए । घरबिमा कार्यक्रममा समेत दुर्घटना भएको खण्डमा पाँच लाखसम्मको भुक्तानी दिने सरकारले तयारी गरेको उनले बताए ।

प्रकाशित मितिः   २ चैत्र २०७६, आईतवार १३:११