हेल्थ डेस्कमा स्वास्थ्यकर्मी अभाव

सुर्खेत : कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्थापना गरिएको हेल्थ डेस्कमै स्वास्थ्यकर्मीको अभाव भएको छ । कर्णाली प्रदेश सरकारले बबईमा राखेको हेल्थ डेस्कमा आवश्यक पूर्वाधार र जनशक्ति अभाव भएको हो ।

हेल्थ डेस्कमा पाँच जना स्वास्थ्यकर्मी मात्र रहेका छन् । कर्णाली प्रदेश भित्रिने मुख्य नाकाको रूपमा रहेको बबईबाट दैनिक करिब तीन सय ५० को हाराहारीमा सवारी साधन सुर्खेत भित्रिन्छन् । डेस्कमा करिब तीन हजार बढी नागरिकको हरेक दिन जाँच हुने गरेको छ । चाप बढी भएको दिनमा पाँच हजारसम्मको स्वास्थ्य जाँच गर्नुपर्ने बाध्यता रहेको छ । जसले गर्दा डेस्कमा ठूलो भिडभाड हुने गरेको छ । पाँच जना स्वास्थ्यकर्मीले करिब पाँच हजारको स्वास्थ्य जाँच गर्नुपर्ने बाध्यता रहेको डेस्कमा खटिएका सिनियर अहेव रामप्रसाद भण्डारीले बताए । उनले आवश्यक जनशक्ति र पूर्वाधारको अभाव रहेको जानकारी दिए ।

स्वास्थ्यकर्मीहरूले एउटा मेसिनले स्वास्थ्य जाँच गर्ने गरेका छन् । उनले बिहान ६ बजेदेखि साँझ छ बजेसम्म यात्रुको जाँचमा खटिने गरेको बताए । हेल्थ डेस्क बबईको सुर्खेततर्फको क्षेत्रमा राखिएको छ । डेस्क सडकको छेउमै छ । सडकको छेउमै डेस्क भएकाले लाइन व्यवस्थित गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । उक्त ठाउँमा सवारी साधन पार्किङ्ग, शौचालय, खानेपानीको व्यवस्था छैन । स्वास्थ्यकर्मीहरूले आराम गर्ने ठाउँ समेत छैन । यात्रुको ज्वरो नाप्ने, प्रभावित क्षेत्रबाट आएकालाई परामर्श दिने र कोरोनाको जोखिमविरुद्ध जनचेतना जगाउने गरिएको छ ।

यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल र स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारीलगायतको टोलीले शनिवार हेल्थ डेस्कको अनुगमन गरेका छन् । मुख्यमन्त्री शाहीले यात्रुको चाप बढी हुने भएकाले बबईको वारी र पारी गरेर दुुई वटा डेस्क राख्नु पर्ने भन्दै तत्काल व्यवस्था गर्न सामाजिक विकासमा मन्त्रालय र स्वास्थ्य सेवा निर्देशनालयलाई निर्देशन दिए । ‘हेल्थ डेस्क सञ्चालनका लागि आवश्यक पूर्वाधार तत्काल गराउनुहोस्’ उनले भने ।

प्रकाशित मितिः   २ चैत्र २०७६, आईतवार १३:१५