संसद् छल्दै मन्त्रीहरू

वीरेन्द्रनगरमा रहेको कालिजपालन फर्म उद्घाटन गर्न पुगेका मुख्यमन्त्रीसहित मन्त्रीहरू । फाइल फोटो

सीता वली, 

सुर्खेत : कर्णाली प्रदेशसभाको अघिल्लो वर्षे अधिवेशनको दशौं बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् अवरुद्ध ग¥यो । संघीय संसद्को अभ्यासमा प्रतिपक्ष दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने भए पनि कर्णाली प्रदेशमा भने प्रतिपक्ष दलको नेता बोल्दा मुख्यमन्त्री नै उपस्थित नभइ संसद्को मानमर्दन गरेको आरोप प्रतिपक्षको थियो । त्यसमाथि बैठकमा आर्थिक वर्ष २०७६÷७७ को बजेटमाथि छलफल हुँदै थियो । यति महत्वपूर्ण बैठकमै मुख्यमन्त्री नआएपछि प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले चर्को आलोचना गरेका थिए ।

यस्तै गत फागुन १ गते बस्ने तय भएको प्रदेशसभाको बैठक मुख्यमन्त्रीसहित विभागीय मन्त्री र सांसदहरू नै जिल्लामा नभएपछि स्थगित गरियो । बैठकमा गणपूरक संख्या (कोरम) नपुग्ने भएपछि संसद् सचिवालयले सूचना टाँसेर तीन दिनका लागि बैठक स्थगित गरेको थियो । यता प्रदेशसभाका बैठक नै स्थगित हुँदै गर्दा मुख्यमन्त्रीसहित कर्णाली प्रदेशका अन्य विभागीय मन्त्रीहरू जनयुद्ध दिवस मनाउनका लागि भन्दै राजधानी बाहिरका कार्यक्रममा सहभागी भइरहेका थिए ।

यी त केही उदाहरण मात्रै हुन् । कर्णाली प्रदेशसभाको पाँचौं अधिवेशनको सातौं बैठक बस्दासम्म थुप्रैपटक मुख्यमन्त्री र विभागीय मन्त्रीहरूले संसद् छल्दै आएका छन् । संसद् छल्दै उनीहरू विभिन्न नीति संघ–संस्थाका कार्यक्रममा धाइरहेका छन् । कर्णाली प्रदेश सरकार स्थापना भएयता पाँचौ अधिवेशनको सातौ बैठकसम्म एक सय १६ दिन संसद् चलिसकेको छ । तर प्रदेशका मन्त्रीहरूले भने संसद्लाई त्यति चासो दिएको देखिदैंन । संसद् बैठक छोडेर मन्त्रीहरू औपचारिक कार्यक्रम उद्घाटनका लागि जिल्ला दौडाहा गरिरहेका हुन्छन् । आफ्नो मन्त्रालयसँग सरोकार नै नभएका कतिपय कार्यक्रममा पनि सिङ्गो मन्त्रिमण्डल नै उपस्थित हुन्छ ।

संसद् बैठकमा मन्त्रीहरूको उपस्थिति हेर्ने हो भने पनि सन्तोषजनक देखिदैंन । हालसम्म बसेका एक सय १६ दिनको बैठकमा मुख्यमन्त्री शाही जम्मा ३६ दिन मात्रै उपस्थित भएका छन् । मुख्यमन्त्रीले संसद्लाई बारम्बार बेवास्ता गरेको भन्दै प्रतिपक्ष दलले समेत बारम्बार संसद् अवरुद्ध गर्दै आएको छ । प्रदेश सभाको पहिलो अधिवेशनमा २२ दिन बैठक बसेकोमा १६ दिन शाहीको उपस्थित भएको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, दोस्रो अधिवेशनमा ४१ दिन बैठक बस्दा ११ दिन, तेस्रो अधिवेशनमा १३ दिन बैठक बसेकोमा एक दिन, चौथो अधिवेशनमा ३३ दिन बैठक बसेकोमा सात दिन र पाँचौं अधिवेशनको सातौं बैठकसम्म एक दिन मात्रै शाहीको उपस्थिति भएको सचिवालयको तथ्यांकमा छ ।

मुख्यमन्त्री मात्र होइन अन्य विभागीय मन्त्रीहरूले समेत संसद् छल्ने गरेको उनीहरूको बैठकमा हुने उपस्थितिले प्रष्टै देखिन्छ । विभागीय मन्त्रीहरूमा सबैभन्दा कम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढा उपस्थित भएका छन् । उनी पाँचौं अधिवेशनको सातौ बैठकसम्म ७६ दिनमात्रै बैठकमा उपस्थित भएको सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङ्गले जानकारी दिए । गुरुङ्गका अनुसार सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी ७८ दिन, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी ७९ दिन र सामाजिक विकास मन्त्री दल रावल ८३ दिन उपस्थित भएका छन् । तुलनात्मक रूपमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको उपस्थिति अरुको भन्दा बढी छन् । उनी बैठकमा ९० दिन उपस्थित भएका छन् ।

सांसदहरूले सभामा उठाइएका महŒवपूर्ण विषयहरूको समेत सरकारबाट जवाफ नपाएको गुनासो गर्दै आएका छन् । बैठकका शून्य र विशेष समयमा उठाइएका विषयमा जवाफ दिन कर्णाली प्रदेश सरकारका विभागीय मन्त्रीहरू समेत उपस्थित नहुँदा नागरिकका गुनासाको सुनुवाइ नभएको सत्तापक्षकै सांसदहरूले बैठकमा बारम्बार बोल्दै आएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठले संसद् बैठकमा सांसदहरूले शून्य समय र विशेष समयमा बोलेको विषयमा तत्काल कदम चाल्न मन्त्रीहरू बैठकमा आउनुपर्ने बताए । ‘मन्त्रीहरू सधैं बैठकमा आउन सक्नुहुन्न,’ उनले भने ‘नागरिकको अत्याधिक चासोको विषयमा सांसदहरूले बोलेका कुराहरूको सुनुवाइ गर्न पनि उहाँहरूको उपस्थिति महŒवपूर्ण हुन्छ ।’ उनले कतिपय अवस्थामा सांसदहरूले तत्काल सरकारले कदम उठाउनुपर्ने विषय समेत संसद् बैठकमा बोल्ने गरेको हुँदा सरकारका मन्त्रीहरूको उपस्थिति जरुरी हुने औल्याए । सभामुख राजबहादुर शाही भने पाँचौ अधिवेशनको सातौं बैठकको एक सय १६ दिनसम्मनै उपस्थित भएको सचिवालयले जानकारी दिएको छ । संसद्को चौंथो अधिवेशनसम्ममा उप–सभामुख पुष्पा घर्ती मगर एक सय एक दिन बैठकमा सहभागी भएको संसद् सचिवालयको रेकर्डमा छ ।

मन्त्रीहरू मात्र होइन सांसदहरू पनि सबै बैठकमा उपस्थित हुँदैनन् । चौंथो अधिवेशनसम्ममा अन्य सांसदहरू जीवनबहादुर शाही ८८ दिन, यामलाल कँडेल ७६ दिन, अमृता शाही एक सय पाँच दिन, अम्मरबहादुर थापा एक सय दिन, करविर शाही ८९ दिन, कुर्मराज शाही ९५ दिन, कृष्णा शाह ९१ दिन, कौशिलावती खत्री ९० दिन, खड्कबहादु खत्री ७३ दिन बैठकमा उपस्थित भएका छन् ।

यसैगरी, सांसद गणेशप्रसाद सिंह एक सय तीन दिन, गुलाबजङ्ग शाह ९८ दिन, गोपाल शर्मा ७८ दिन, झोवा विक एक सय दुई दिन, ठम्मरबहादुर विष्ट ९२ दिन, दानसिंह परियार ९३ दिन, दिनबन्धु श्रेष्ठ ९२ दिन, देवी ओली एक सय चार दिन, धर्मराज रेग्मी ८३ दिन, पदमबहादुर रोकाय ९४ दिन, पद्मा खड्का एक सय ४ दिन, बद्मी क्वारी बोहोरा ८० दिन, विन्दमान विष्ट ९७ दिन, वीरबहादुर शाही ९२ दिन, मीनासिंह रखाल एक सय ६ दिन बैठकमा उपस्थित भएका छन् । यज्ञबहादुर बिसी ९० दिन उपस्थित हुँदा, राजु नेपाली एक सय पाँच, रातो कामी ९९, सीता कुमारी नेपाली ८६, सुशीलकुमार थापा एक सय, सोशीला शाही ९८ दिन र हिमबहादुर शाही ८८ दिन बैठकमा उपस्थित भएका हुन् ।