‘अर्थ नबुझी समाज बुझिँदैन’

सुर्खेत : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक कुरालाई नुबुझी समाज बुझ्न नसकिने बताएका छन् । आर्थिक पत्रकार समाज नेपालले बिहीवार वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कर्णालीमा अर्थतन्त्रको थुप्रै सम्भावना भएको भन्दै मन्त्री ज्वालाले यसको लागि प्राकृतिक स्रोत साधनको उपयोग गर्नुपर्ने बताए । ‘काम गर्नलाई कर्मचारीतन्त्र हाबी छ’ उनले भने ‘सरकारी प्रक्रिया समेत झण्झटिला छन् ।’ कर्णाली प्रदेशमा बजेट खर्चको दर नबढ्नुमा थुप्रै कारण भएको मन्त्री ज्वालाले जानकारी दिए । उनले खर्च गर्न नसक्ने शीर्षक भए रकमान्तर समेत गरेर बजेट कार्यान्वयन गरिने बताए ।

कार्यक्रममा सार्वजनिक खर्च व्यवस्थापन, अन्तरतह वित्तिय व्यवस्थापन लगाएतका विषयमा छलफल गरिएको थियो । साथै पत्रकारहरूले आर्थिक समाचार संकलन कसरी गर्ने, अनियमितता भएको कसरी जानकारी पाउने लगायत कानुन विपरित सरकारी निकायले गरेको खर्च विषयमा छलफल गरिएको थियो । कर्णाली प्रदेशको राजधानी सुर्खेतका करिब ५० बढी पत्रकारहरूको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः   ३० फाल्गुन २०७६, शुक्रबार ०५:०१