सहकारी व्यवस्थापन तालिम
सुर्खेत : भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय कर्णाली प्रदेशको आयोजनामा सहकारी व्यवस्थापन प्रशिक्षक प्रशिक्षण तालिम वीरेन्द्रनगरमा सञ्चालन भएको छ । तालिमको उद्घाटन गर्दै कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले सरकारको तीन खम्बे नीति अनुरूप सहकारीलाई प्रभावकारी परिचालन गर्न सके मात्र संविधानले परिकल्पना गरेको समाजवाद हासिल हुन सक्नेमा जोड दिइन् । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सहकारीको विकासलाई सरकारले उच्च प्राथकिता दिने मन्त्री केसीको भनाइ थियो ।
कार्यक्रममा मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले सहकारीमार्फत आर्गानिक प्रदेश निर्माण गर्न सकिने र स्थानीय तहबाट प्रभावकारी नियमन हुनुपर्ने बताए । साथै सहकारी संख्यात्मक भन्दा पनि गुणात्मक बनाउन अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए । कार्यालयका रजिष्ट्रार राजु बस्नेतको अध्यक्षतामा भएको उदघाटन कार्यक्रमको सञ्चालन अधिकृत इन्द्रा चपाईले गरेकी थिइन् ।
पाँच दिन सम्म सञ्चालन हुने उक्त तालिममा सुर्खेत, दैलेख, सल्यान र जाजरकोटका विभिन्न स्थानीय तहका ३० जना सहकारी शाखाका कर्मचारीहरूको सहभागीता रहेको छ । तालिमको सहजिकरण राजेन्द्रप्रसाद भारी, राजु बस्नेत, खेमराज आचार्य र इन्द्रा चपाईले गरेका छन् ।
प्रकाशित मितिः ३० फाल्गुन २०७६, शुक्रबार ०५:००
साझा बिसौनी ।