कर नीतिबारे अन्तरक्रिया

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ भदौ ।
सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा परिवर्तित कर नीति, बजार अनुगमन तथा उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रम मंगलवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय नेपालगन्जका कर अधिकृत नन्दबहादुर भण्डारीले कर शिक्षा सम्बन्धी, सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बजार अनुगमन र उपभोक्ता अधिकार तथा चार्टड एकाउण्टेन्ट विश्व भण्डारीले परिवर्तित कर नीतिबारे सहजीकरण गरेका थिए ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत नारायण सुवेदीले जिम्मेवारी र इमान्दार भएर व्यापार गरे ऐन कानुन देखेर व्यापारी डराउनुपर्ने अवस्था नभएकोमा जोड दिए । अधिकांश व्यापारीले कर शिक्षाबारे नजानेकै र नबुझेकै कारण कारबाहीको भागिदार हुनुपरिरहेको उल्लेख गर्दै उनले कोही कतै भने जानाजान कर कानुन उल्लङ्घन पनि भइरहेको टिप्पणी गरे । कार्यक्रममा संघका अध्यक्ष प्रकाश अधिकारीले केही समयअघि गरिएको सर्वेक्षण अनुसार ९० प्रतिशतभन्दा बढी व्यापारीलाई कर शिक्षाबारे पूर्ण चेतना र जानकारी नभएको उल्लेख गरे । कर शिक्षामा सबै तहका व्यापारी व्यवसायीको पहुँच पु¥याउनु नितान्त जरुरी भइसकेको भन्दै अध्यक्ष अधिकारीले कानुनको अज्ञानता र अनविज्ञता क्षम्य नहुने स्पष्ट पारे । कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघ मातहतका विभिन्न वस्तुगत समितिमा सम्वद्ध व्यापारी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १५ भाद्र २०७३, बुधबार ०४:५२