ताक्लाकोटमा रोकिए डेढ सय नागरिक

सीता वली, सुर्खेत : कोरोना भाइरसको महामारीका कारण कर्णालीका डेढ सय बढी नागरिक चीनको ताक्लाकोटमा रोकिएको पाइएको छ । व्यापारका लागि गएका उनीहरू कोरोनाको संक्रमण फैलिएपछि नेपाल फर्किन लागेका डेढ सय नागरिक ताक्लाकोटमा रोकिएका हुन् ।

हुम्लाको हिल्सा नाका हुँदै वर्षेनी ठूलो संख्यामा नेपालका व्यापारीहरू चीन पुग्ने गर्दछन् । विशेषगरी हुम्लाका व्यापारीहरू चीन पस्छन् । तर यस पटक एकाएक फैलिएको कोरोनाका कारण उनीहरू उतै थुनिएका हुन् । चीन पुगेकामध्ये केही सुरुवातमै नेपाल फर्किए पनि एक सय ४८ जना ताक्लाकोटमै रोकिएको हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद छक्कबहादुर लामाले जानकारी दिए । व्यापारको शिलशिलामा गएका उनीहरू अहिले चीन सरकारको उच्च निगरानी रहेका छन् । जिल्लाबाट करिब दुई सय जना व्यापारी एकैसाथ चीन पुगेका थिए । जसमध्ये चालीस जना भने सुरुवातमै हेलिकोप्टर चार्टर गरेर फर्किसकेका छन् । अन्य नागरिक भने आउन नसकेको सांसद लामाले जानकारी दिए । उनका अनुसार एक जना हुम्लाका नागरिक ताक्लाकोटबाट यसअघि नै भागेर हुम्ला आए पनि उनलाई स्थानीयले गाउँ पस्न दिएका छैनन् । सिमकोट गाउँपालिका–३ का ती युवालाई स्थानीयले कोरोना भाइरसको संक्रमण फैलाउन सक्ने भन्दै गाउँ पस्न नदिएको सांसद लामाले बताए । ‘चीन गएका सबै हुम्ला जिल्लाका नागरिक हुन्’ लामाले साझा बिसौनीसँग भने, ‘व्यापारको शिलशिलामा चीन गएका उनीहरू भाइरस फैलिएपछि चीन सरकारको उच्च निगरानीमा रहेका छन् ।’

चीन सरकारको निगरानीमा रहेका नागरिकहरू नेपाल आउन चाहेको भन्दै सांसद लामाले नेपाल सरकार तथा कर्णाली प्रदेश सरकारले उद्धार गर्नुपर्ने बताए । ‘उनीहरूले मलाई बारम्बार फोन गरी उद्धारका लागि पहल गर्न आग्रह गर्दै आएका छन्’ सांसद लामाले थपे ‘मैले नेपाल सरकारका गृहमन्त्री र स्वास्थ्य मन्त्रीज्यूलाई यस बारेमा बारम्बार जानकारी गराएको छु ।’

व्यापारका लागि चीन गएर फर्किएकाहरूबाट भाइरसको संक्रमण आउने डरले स्थानीय नागरिक त्रसित बनेका छन् । पूर्व तयारी गरी चीनमा रहेका नेपालीहरूलाई सरकारले उद्धार गर्नुपर्ने भन्दै सांसद लामाले नेपाल सरकार तथा कर्णाली प्रदेश सरकारले यस विषयमा ध्यान नदिए कर्णाली प्रदेशबाटै कोराना भाइरस नेपालभर फैलने सक्ने बताए । मंसिरमै हिउँ परेको कारण चीनमा व्यापार गर्न गएका नागरिकहरू चीनबाट समयमै हुम्ला फर्कन नपाएको कारण समस्या आएको उनले बताए । जेठ महिनामा चीनको नाका खुलेपछि केही महिना व्यापार गर्ने उद्देश्यले चीन पसेका कर्णालीबासी कोरोना फैलिएपछि चीनमै अल्मलिएका हुन् । यता संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कुनै पनि अवस्थामा नागरिक समस्यामा परे उद्धार गर्ने बताए ।

‘नागरिकको रक्षा गर्ने जिम्मा तीनै तहका सरकारको हो’ उनले भने ‘तर चीनबाट संक्रमितलाई भने नेपाल सरकारले ल्याउन सक्दैन ।’ चीन गएका नागरिक भागेर आउने कुराको सत्यतथ्य बुझी तत्काल निगरानी बढाउनको लागि पहल गरिने उनले बताए । आफू पनि कर्णााली प्रदेशकै भएको नाताले कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि उच्च सतर्कता अपनाउने उनले बताए ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले तिब्बत नाकामा कोरोनाको संक्रमण नफैलिएकोले नागरिकहरूलाई त्रसित नहुन आग्रह गरे । उनले चीन गएका हुम्लाका नागरिकहरूले कर्णाली प्रदेश सरकारलाई उद्धारको लागि आग्रह नगरेको भन्दै नागरिकलाई समस्या परेको खण्डमा सरकारले पहल गर्ने बताए । रावलका अनुसार हुम्ला जिल्लाको हिल्सा नाकामा यसअघि नै हेल्थडेस्क राखिएको र आइतबार मात्रै सिमिकोट नाकामा हेल्पडेक्स राखिएको जानकारी दिए । हुम्लाबाट व्यापारका लागि गएका नागरिकहरूलाई चीन सरकारले उच्च सतर्कताका साथ राखेको मन्त्री रावलले बताए । ‘चाइना गएका नागरिकलाई तत्काल यहाँ ल्याएर पनि कहाँ राख्ने ?’ मन्त्री रावलले भने ‘उद्धार गरेर ल्याएपछि क्वारेन्टाइनको समेत व्यवस्था गर्नुपर्ने हुन्छ ।’ आफ्ना नागरिकको उद्धार गर्ने र संरक्षण गर्ने राज्यको दायित्व भएको भन्दै मन्त्री रावलले व्यापारका लागि हुम्लाबाट चीन गएका नागरिकहरूले उद्धारका लागि कुनै माग नराखेको बताए ।