कोराेना त्रासले हरायो होलीको रौनक

 

सुर्खेत : कोरोना भाइरसको त्रासले यस वर्षको होली पर्व विगतमाजस्तो उल्लाषपूर्ण हुन सकेन । आपसी मेलमिलाप र सद्भावनाको पर्वको रूपमा रहेको होलीमा विभिन्न रङ र लोला हानेर खेल्ने चलन छ । तर यस वर्ष कोरोनाको त्रासले अघिल्लो वर्षमा जस्तो नागरिकमा होलीको रौनक देखिएन ।

होलीका दिन सोमवार हिमाली तथा पहाडी जिल्लामा सरकारले सार्वजनिक बिदा समेत दिएको थियो । तर सरकारले नेपालमा पनि कोरोनाको उच्च जोखिम रहेको भन्दै ठूलो भेला भएर होली खेल्न र भिडभाड नगर्न सूचना जारी गरेको छ । त्यसैले यस वर्षको होलीमा ठूला सभा समारोह र भेला गरेर होली खेल्न रोक लगाएपछि केही सीमित व्यक्तिहरूबाहेक धेरैले होली खेलेनन् । अघिल्लो वर्षसम्म ठूलो भिडमा होली खेल्ने गरे पनि यस वर्ष भने वीरेन्द्रनगरका सडक सुनसान जस्तै थिए । छिट्फूट रूपमा दुुई–चार जना जम्मा भएर होली खेल्ने बाहेक ठूलो संख्या सडकमा देखिएन । कतिपयले घरभित्रै सामान्य रूपमा होली मनाएका छन् ।

वीरेन्द्रनगर वडा नं. ८ का कृष्ण न्यौपानेले दुुई–चार जना साथीहरू जम्मा भएर होली खेले पनि बाहिर नगएको बताए । सरकारले सावधानी अपनाउन भनेकाले पनि आफूहरूले अघिल्ला वर्ष जसरी होली नखेलेको उनको भनाइ छ । केही संघ–संस्थाले आफ्ना थोरै सदस्यहरूलाई मात्र सहभागी गराएर होली खेलेका छन् । सडकमा होली खेल्दै हिँड्ने गरे पनि यस वर्ष पहिलेको जस्तो होलीको रौनक नदेखिएको उनले बताए । वीरेन्द्रनगर–६ का हरिमाया गुुरुङले अघिल्लो वर्ष जस्तो रौनक नदेखिएको बताइन् । उनले भनिन्, ‘अघिल्ला वर्षहरूमा बिहानैदेखि नै वीरेन्द्रनगरका चोक र सडकमा होली खेल्नेको चहलपहल हुुन्थ्यो । केटाकेटीहरू होली खेल्दै, नाँच्दै हिँड्थे । अहिले कोराना भाइरसको डरले सरकारले नखेल्नु भनेर होला यस पटक पहिलेको जस्तो रमाइलो देख्न पाइएन ।’

कोरोनाको त्रासले गर्दा रङको व्यापारमा समेत असर परेको छ । व्यापारीहरूले विशेष गरेर होलीका लागि ल्याइएका सामग्री अपेक्षा गरेर अनुसार बिक्री नभएको बताएका छन् । विगतको तुलनामा पचास प्रतिशत पनि रङको व्यापार नभएको उनीहरूको भनाइ छ । वीरेन्द्रनगरमा व्यवसायी गर्दै आएका प्रताप थापाले रङको व्यापार सोचे अनुसार नभएको बताए । उनले केही मात्रामा केटाकेटीले रङका सामान किने पनि धेरै सामान बिक्री नै नभएको जनाए ।

प्रकाशित मितिः   २७ फाल्गुन २०७६, मंगलवार ०५:००